
काठमाडौं ।
सरकारले २०७९ फागुनसम्म उद्यमी युवाहरूलाई लक्षित गरी १४ आङ्गिक शिक्षालयमार्फत उद्यमशीलता र व्यावसायिक विकासका लागि इन्क्युवेसन सेन्टर सञ्चालनमा ल्याएको छ।
त्यसैगरी, प्रयोगात्मक अभ्यासमार्फत वस्तु तथा सेवा उत्पादनमा अभिवृद्धिका लागि १५ आङ्गिक शिक्षालयमार्फत इन्टर्नको व्यवस्था गरिएको उल्लेख गरेको छ।
आईतवार सार्वजनिक गरिएको चालू आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षणकाअनुसार प्राविधिक तथा व्यावसायिक शिक्षाका कार्यक्रमलाई सूचना प्रविधिमैत्री बनाउँदै लैजाने नीतिअनुरूप हालसम्म ७ आङ्गिक शिक्षालयमा कृषि, निर्माण र पर्यटन कार्यक्रमका लागि शैक्षिक उपकरणसहितको ल्याब स्थापना भएको छ।
साथै, २५ आङ्गिक शिक्षालयमा सूचना प्रविधियुक्त कक्षा कोठा निर्माण गरिएको छ। इ-लर्निङ सिस्टममार्फत डिप्लोमा तहका कार्यक्रमका लागि २९८ विद्युतीय शिक्षण सिकाइ सामग्री निर्माण भएको उल्लेख छ।
यसका साथै मुलुकभर सञ्चालित २७ हजार ३ सय ४३ सामुदायिक विद्यालयमध्ये ६,८६९ (२५.१ प्रतिशत) विद्यालयमा सूचना प्रविधि प्रयोगशाला रहेको छ। कुल विद्यालयमध्ये ३५.९ प्रतिशत विद्यालयमा ब्रोडब्यान्ड इन्टरनेट सुविधा उपलब्ध रहेको छ।
प्रतिवेदनकाअनुसार हालसम्म कक्षा १-१० सम्मका ३,००० भन्दा बढी श्रव्यदृश्य पाठ उत्पादन गरी युट्युब च्यानल (NCED Virtual) मा राखिएको छ। उक्त युट्युब च्यानलको सब्सक्राइबरको सङ्ख्या ३ लाख ५ हजार भन्दा माथि रहेको छ।
उत्पादित श्रव्यदृष्य पाठहरू दैनिक ५ घण्टाका दरले नेपाल टेलिभिजनको एनटिभी प्लस (NTV Plus) च्यानलबाट नियमित रूपमा प्रसारण भइरहेको उल्लेख छ।
प्रकाशित: १५ जेष्ठ २०८०, सोमबार