तारबाट इन्टरनेट चलाउने संख्या १ करोड १५ लाख नाघ्यो, एक चौथाई बजारमा वर्ल्डलिंकको कब्जा

  • Technology Khabar | ८ जेष्ठ २०८०, सोमबार
तारबाट इन्टरनेट चलाउने संख्या १ करोड १५ लाख नाघ्यो, एक चौथाई बजारमा वर्ल्डलिंकको कब्जा

काठमाडौं ।

नेपालमा तारबाट इन्टरनेट चलाउने प्रयोगकर्ता १ करोड १५ लाख नाघेका छन्। नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको २०७९ फागुनको तथ्यांकअनुसार अप्टिकल फाइबर (तार) मार्फत इन्टरनेट प्रयोग गर्नेको संख्या १ करोड १५ लाख ८ हजार ४१६ पुगेको छ।

नेपालमा इन्टरनेट सेवा प्रदायकमार्फत इन्टरनेट जडान गर्ने संख्या २६ लाख ३३ हजार ५०५ छ। दूरसञ्चार क्षेत्रको नियामक निकाय प्राधिकरणका अनुसार एउटा कनेक्सनबाट औसतमा ४.३२ ग्राहकले इन्टरनेट प्रयोग गर्छन।

कोभिड १९ को प्रकोपपछि घरबाटै अनलाइन शिक्षा र काम गर्नुपर्ने अवस्था सिर्जना भएकाले पनि फिक्स्ड इन्टरनेटको प्रयोग बढ्दो क्रममा देखिएको थियो। साथै इन्टरनेट सेवा प्रदायकहरुले ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दै आक्रामकरुपमा बजार विस्तार गर्दा पनि तारमार्फत इन्टरनेट प्रयोग गर्नेको संख्या निरन्तर बढी रहेको छ।

मोबाइल डाटाको तुलनामा तार इन्टरनेट तुलनात्मकरुपमा सस्तो हुनुका साथै वाईफाईमार्फत कम्प्युटर, ल्यापटप, मोबाइल डिभाइस र अन्य इन्टरनेट सपोर्ट गर्ने डिभाइसमा कनेक्ट गरेर परिवारका सबै सदस्यले चलाउन मिल्ने भएकाले पनि यसमा आकर्षण बढिरहेको देखिन्छ।

प्राधिकरणको सार्वजनिक तथ्यांकअनुसार तारबाट इन्टरनेट सेवा प्रदान गर्ने संस्थाहरु मुलुकभर ६२ ओटा छन्। कम्पनीहरु बीचको तीव्र प्रतिस्पर्धा र सरकारले समेत देशैभर ब्रोडब्यान्ड इन्टरनेट जडान गर्ने परियोजना सञ्चालन गरेकाले पनि तार इन्टरनको पहुँच बढ्दै गएको छ।

ग्राहक संख्याका आधारमा वर्ल्डलिंक कम्युनिकेसन लिमिटेड पहिलो स्थानमा छ। ७ लाख ५२ हजार ५७३ घर तथा संघ संस्थानमा वर्ल्डलिंकको इन्टरनेट जडान गरिएको छ। २८.५७ प्रतिशत बजार हिस्सा ओगटेको वर्ल्डलिंकमार्फत इन्टरनेट प्रयोग गर्ने ३२ लाख ५१ हजार ११५ जना छन्।

दोस्रो स्थानमा रहेको सरकारी स्वामित्वको नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को इन्टरनेट २ लाख ८७ हजार १९० घर तथा संस्थामा जडान गरिएको छ।

२ लाख ७० हजार ३३ कनेक्सन सहित क्लासिक टेक प्रालि तेस्रो स्थानमा छ।

चौथो स्थानमा रहेको भायनेट कम्युनिकेसन्स प्रालिको कनेक्सन २ लाख ६४ हजार ८३ पुगेका छन्।

२ लाख ५५ हजार ३९४ र २ लाख २९ हजार ६४६ कनेक्सन सहित क्रमशः सुबिसु केबलनेट लिमिटेड र डिस मिडिया लिमिटेड पाँचौ र छैटौं स्थानमा रहेको प्राधिकरणको तथ्यांकले देखाएको छ।

प्रकाशित: ८ जेष्ठ २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...