
काठमाडौं ।
के तपाई प्रायः आफ्नो सामान कहाँ राख्नुभएको छ भनेर बिर्सनुहुन्छ? यदि हो भने… त्यसो भए तपाईले अब चिन्ता लिनु पर्दैन। प्रविधिको सहयोगमा मानिसको यो समस्यालाई हटाउने प्रयास भइरहेको छ।
पछिल्लो रिपोर्ट अनुसार क्यानडाको वाटरलु युनिभर्सिटीका अनुसन्धानकर्ताहरूको टोलीले नयाँ रोबोट विकास गरेको छ। यो रोबोट एआई प्रविधिका साथ प्रोग्राम गरिएको छ, जसले मानिसलाई बिर्सिएको वा हराएको वस्तु फेला पार्न मद्दत गर्छ।
यस रोबोटसँग सम्बन्धित सबै विवरणहरू जानौं।
यो रोबोटले यी मानिसहरूलाई मद्दत गर्ने
इकोनोमिकटाइम्सको पछिल्लो रिपोर्टमा विकसित यो नयाँ रोबोटको बारेमा जानकारी दिइएको छ। रिपोर्टकाअनुसार क्यानडाको युनिभर्सिटी अफ वाटरलूका अनुसन्धानकर्ताहरूको टोलीले डिमेन्सियाबाट पीडित मानिसहरूलाई मद्दत गर्न भनेर विशेष रूपमा एआई प्रविधिमा आधारित रोबोट बनाएका हुन्।
डिमेन्सिया रोगमा, मानिसहरू प्रायः उनीहरूको घडी, चश्मा र किताबहरू जस्ता केही महत्त्वपूर्ण चीजहरू कतै राख्छन र बिर्सन्छन्। धेरै अवस्थामा, मानिसहरूले आफ्नो जीवनकालका घटनाहरू र आफ्नो जीवनसँग सम्बन्धित व्यक्तिहरूलाई समेत बिर्सन्छन्। तर, डिमेन्सियाको प्रारम्भिक लक्षणहरू मध्ये एउटा सानातिना सामाग्रीलाई कतै राखेर बिर्सनु हो।
प्रारम्भिक चरणमा डिमेन्सियाबाट पीडित व्यक्तिहरूलाई मद्दत गर्न वाटरलू विश्वविद्यालयको टोलीले आर्टिफिसियल इन्टेलिजेन्सले सुसज्जित यो रोबोट तयार पारेको हो। यस टोलीमा संलग्न पोस्ट-डक्टोरल अनुसन्धानकर्ता अली अयुबले यसको दीर्घकालीन प्रभाव निकै रोमाञ्चक हुने बताए।
यो रोबोटले हराएको चीज कसरी फेला पार्छ?
रोबोटलाई क्यामराको सुविधासहित विकसित गरिएको छ जसले जुनसुकै कुराको भिडियोलाई मेमोरीमा राख्छ। यो रोबोटले सबै चीजको लागि मेमोरी लग सिर्जना गर्दछ। यसका लागि टोलीले रोबोटमा ‘वस्तु पत्ता लगाउने एल्गोरिदम’ प्रयोग गरेको छ, जसले यसलाई चीजहरू पत्ता लगाउन, ट्र्याक गर्न र सम्झन मद्दत गर्छ। हराएको चीजहरू पत्ता लगाउन, रोबोटले भण्डारण गरिएका भिडियोहरूको मद्दतले हराएको वस्तुहरू खोजेर पत्ता लगाउँदछ। यति मात्र होइन, यसले मिति र समयसँगै वस्तु रेकर्ड गर्छ, त्यसैले चीजहरू पत्ता लगाउन धेरै सजिलो हुनेछ।
यस रोबोटको परीक्षण गरिएको छ, जसमा टोलीले यसको नतिजा धेरै हदसम्म सही भएको पाएको छ। यसै समयमा, एक प्रयोगकर्ता अध्ययन समेत सञ्चालन हुन लागेको छ, जसमा यसलाई पहिले डिमेन्सिया नभएका व्यक्तिहरूमा परीक्षण गरिनेछ र त्यसपछि डिमेन्सियाबाट पीडित व्यक्तिहरूमा परीक्षण गरिने बताईएको छ।
प्रकाशित: २ जेष्ठ २०८०, मंगलवार