
काठमाडौं ।
भन्सार विभागले वैदेशिक रोजगारीमा गएर फर्किनेहरुले अतिरिक्त मोबाइल फोन ल्याउन पाउने सुबिधा दिने भएको छ।
विभागले सार्वजनिक सूचना जारी गर्दै यात्रुहरूले आफ्नो साथमा महसुल सुविधामा ल्याउन पाउने मोबाइल फोन बारेमा उल्लेख गरेको हो।
विभागका अनुसार यात्रुहरूले आफ्नो साथमा ल्याउन र लैजान पाउने निजी प्रयोगका मालवस्तु सम्बन्धी आदेश, २०७७ बमोजिम विदेशबाट फर्कने यात्रुहरूले आफूले प्रयोग गरिरहेको मोबाइल फोन थान १ महसुल नतिरी ल्याउन पाउने व्यवस्था रहेको छ।
जसअनुसार श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गई कम्तीमा लगातार ६ महिना काम गरी फर्केका नेपाली नागरिकले थप १ थान मोबाइल फोन समेत ल्याएमा कुनै पनि महसुल नलाग्ने गरी नेपाल सरकार, मन्त्रिपरिषद् बाट मिति २०८०/१/२६ मा निर्णय भएको जनाएको छ।
नेपालमा मोबाइल फोनको नियमन गर्न नेपाल दूरसञ्चार प्राधिकरणले एमडीएमएस ( कार्यान्वयनमा ल्याएको र उक्त प्रणालीमा समावेश नभएको मोबाइल फोन सञ्चालन हुन नसक्ने चेतावनी भन्सार विभागले दिएको छ।
विभागकाअनुसार यात्रुहरूले आफ्नो साथमा ल्याउन र लैजान पाउने निजी प्रयोगका मालवस्तु सम्बन्धी आदेश बमोजिम विदेशवाट फर्किने यात्रुहरुले आफूले प्रयोग गरिरहेको महसुल नतिरी ल्याउन पाउने १ थान मोबाइल फोनको घोषणा भन्सार कार्यालयमा गर्नु नपर्ने व्यवस्था गरेको छ। यसका साथै उक्त फोन नेपाल दूरसञ्चार प्राधिकरणको एमडीएमएस प्रणालीमा व्यक्ति स्वयंले अनलाइन माध्यमबाट दर्ता गर्नुपर्ने छ।
तर श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गई कम्तीमा लगातार ६ महिना काम गरी फर्केका नेपाली नागरिकले महसुल सुविधामा ल्याउन पाउने थप १ थान मोबाइल फोनको सम्बन्धमा आफू आएको भन्सार कार्यालयमा घोषणा गरी भन्सार प्रक्रिया पुरा गर्नुपर्ने भएको हो।
विभागले सो अतिरिक्त थप १ थान फोन एमडीएमएसमा दर्ता हुने नहुने बारेमा केहि उल्लेख गरेको छैन्।
तर प्राधिकरणकाअनुसार भने सो फोन नेपालभित्र समेत एमडीएमएसमा दर्ता हुनुपर्नेछ। यसको लागि फोन ल्याउने व्यक्ति आफैंले अनलाइनमा गएर एमडीएमएसको वेबसाइटमार्फत मागेका कागजातहरु बुझाएर दर्ता गर्न सकिने सुबिधा रहेको छ।
प्राधिकरणले यहि जेठ १ गते सोमबारदेखि एमडीएमएस लागू हुने जनाईसकेको छ।
हेर्नुस् भन्सारको सूचना-

प्रकाशित: ३० बैशाख २०८०, शनिबार