विद्युतीय टोकन प्रणालीमार्फत सेवा प्रवाह

  • Technology Khabar | ३१ बैशाख २०८०, आईतवार
विद्युतीय टोकन प्रणालीमार्फत सेवा प्रवाह

काठमाडौं ।

जिल्ला प्रशासन कार्यालय सप्तरीले शुक्रबारदेखि विद्युतीय टोकन प्रणालीसहितको सेवा प्रवाह सुरु गरेको छ। राजविराज नगरपालिकाको सहयोगमा जडान गरिएको विद्युतीय टोकन मेसिनको शुक्रबार कार्यवाहक नगर प्रमुख इसरत परविन र प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले सेवाग्राहीलाई टोकन प्रदान गरी उद्घाटन गरे।

त्यस क्रममा हातहातमा मोबाइल र इन्टरनेट भइरहँदा प्रविधिको सदुपयोगले सेवा प्रवाहलाई प्रभावकारी बनाउन सक्नुपर्ने सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मी आचार्य पराजुलीले बताईन्।

नागरिकता लिन शुक्रबार आएकी रविना दाहालले भनिन्, “विद्युतीय टोकन प्रणालीसहितको सेवा प्रवाहले दुई/तीन दिनसम्म लाग्ने र कुर्नुपर्ने झन्झट हुँदैन भने केही घण्टामै काम गराउन सक्नेमा विश्वस्त छौँ।”

प्रजिअ भूपेन्द्र थापाले कार्यालयबाट प्रवाह हुने राष्ट्रिय परिचयपत्र, राहदानी, नयाँ नागरिकता र नागरिकताको प्रतिलिपीलगायतका सेवा थप प्रभावकारी बनाउन टोकन प्रणाली सुरु गरिएको बताए। टोकन प्रणालीले सेवालाई थप सहज, सरल र व्यवस्थित एवं अनावश्यक झन्झट अन्त्य हुने उनले बताए। यसअघि अव्यवस्थित भिडभाडलाई व्यवस्थित गर्ने प्रयास गरिए पनि पूर्ण व्यवस्थित हुन नसकेका कारण सेवाग्राहीलाई असहजताको सामना गर्नुपरेको उल्लेख गर्दै उनले अबदेखि भने सहज हुने बताए।

प्रजिअ थापाका अनुसार टोकनका लागि जडान गरिएको मेसिनमा राष्ट्रिय परिचयपत्र, राहदानी, नयाँ नागरिकता, अन्य र नागरिकताको प्रतिलिपी गरी पाँच वटा विकल्प राखिएको छ। तीमध्ये सेवाग्राहीले आफूलाई चाहिएको सेवाको विकल्पलाई थिचेर टोकन लिई सेवा लिन सक्ने छन्। गोरखापत्रबाट

प्रकाशित: ३१ बैशाख २०८०, आईतवार

तपाइको प्रतिक्रिया

ताजा समाचार