
काठमाडौं ।
काठमाडौँ महानगरपालिकाले आउँदो आर्थिक बर्ष २०८०/०८१ को नीति, बजेट तथा कार्यक्रम तर्जुमा गर्दा नागरिकका धारणाहरु समेत समेटने भएको छ। महानगरपालिकाले यसको लागि सुझाव संकलन संयन्त्र निर्माण गरेको जनाएको छ।
अनलाइन सुझाव संकलन पोर्टलमा महानगरको विकास, सुविधा वितरण, सेवा प्रवाह तथा समृद्धिका लागि कुन कुन क्षेत्रमा कस्ता नीति बनाउनु पर्ला? कस्ता कार्यक्रम राख्नु पर्ला? बजेटको कस्तो व्यबस्था गर्नुपर्ला? लगायत सहरी विकास र व्यवस्थापनसँग सम्बन्धित शीर्षक र उपशीर्षक राखिएका छन् । यी शीर्षकसँग सम्बन्धित या शीर्षकले समेट्न नसकेको भए त्यही क्षेत्रको अन्त्यमा राखिएको अन्यमा गएर आफ्ना सुझाव र सुझावसँग सम्बन्धित कागजात अपलोड गर्न सकिनेछ।
नागरिकका परिकल्पना र समस्या समाधानका न्यूनतम उपाय र योजनाहरूको विवरण जेठ ९ गतेभित्र पठाइसक्नु पर्नेछ। सुझाव [email protected] मा वा नगर कार्यपालिकाको कार्यालयमा पुगेर उपलब्ध गराउन सकिने मेयर बालेन साहले जानकारी दिए।
महानगरसँग पूर्वाधार विकास, आर्थिक विकास, सामाजिक विकास, कार्यालय सञ्चालन तथा प्रशासन सञ्चालन र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र सम्बन्धित छन्।
कसरी दिने सुझाव ?
सुझाव दिनका लागि http://esuggestions.kathmandu.gov.np ठेगानाबाट सुझाव सम्बन्धी जानकारी दिने पेजमा पुगिन्छ। यो पेजमा कार्यक्रम सम्बन्धी सामान्य जानकारी, सुझाव पृष्ठमा जाने बटम छ। पेजमा राखिएका २३ ओटा शीर्षकमा कति ओटा सुझाव प्राप्त भए भन्ने विवरण यही पृष्ठमा हेर्न सकिन्छ।
यहाँ रहेको आफ्नो सुझाव दिनोस् वटम थिचेपछि पुगिने पेजमा कार्यक्रम (बजेट) मा सुझाव दिनुहोस् र नीति निर्माणमा सुझाव दिनुहोस् गरी २ वटा बटम छन्। यी बटममा छानेर आफूलाई इच्छा भएको शीर्षकमा सुझाव दिन सकिन्छ। त्यहाँ भएका सबै वा आफूलाई आवश्यक भएको शीर्षकमा सुझाव दिन सकिने बताईएको छ।
प्रकाशित: २७ बैशाख २०८०, बुधबार