माइती घर मण्डलादेखि नयाँ बानेश्वरतर्फ र न्यूरोड गेटबाट बसन्तपुरतर्फ अव्यवस्थित तार व्यवस्थापन सुरु

  • Technology Khabar | २५ बैशाख २०८०, सोमबार
माइती घर मण्डलादेखि नयाँ बानेश्वरतर्फ र न्यूरोड गेटबाट बसन्तपुरतर्फ अव्यवस्थित तार व्यवस्थापन सुरु

काठमाडौं ।

काठमाडौं महानगर क्षेत्रभित्रका सडक किनाराका पोलमा जथाभावी टाँगिएका र छोडिएका तार व्यवस्थापनको काम सुरु भएको छ। तार व्यवस्थापन गर्न आईतबार (बैशाख २४ गते) महानगर प्रहरी बलमा साझेदार बिच बैठक भएको थियो। बैठकले गरेको निर्णय कार्यान्वयन गर्दै सोमबारबाट व्यवस्थापनको काम थालिएको हो।

माइती घर मण्डलादेखि नयाँ बानेश्वरतर्फको सडक खण्ड र न्यूरोड गेटदेखि बसन्तपुरतर्फको सडक खण्डमा अहिले काम भइरहेको छ। माइती घरतर्फ कामको नेतृत्व डिस होमका यादव तिमल्सिनाले र नयाँ सडकतर्फ कामको नेतृत्व वल्र्ड लिङ्कका सहदेव वरुवालले गरिरहेका छन्। कामका लागि सेवा प्रदायक कम्पनीले २/२ जना खटाएको छ। काम हरेक दिन विहान साढे ७ बजेदेखि साढे ३ बजेसम्म हुनेछ।

‘हामीले सेवा प्रदायक सबैलाई सँगै काम गर्नका लागि अनुरोध गरेका छौँ। तार हटाउन धेरै कम्पनी आएको देखेका छौँ ।’ अभियान थालनीका क्रममा महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले भने, ‘कोही नआएर उहाँको सेवा अवरुद्ध भयो भने त्यसबाट सेवाग्राहीमा परेको असर सेवाप्रदायक नै हुनुपर्नेछ।’

माइती घर मण्डलामा इन्टरनेटमा आधारित सेवा प्रदायकहरु एकै ठाउँमा देखिए। भेला भएर कामको रुपताका लागि योजना बनाए। पोलमा टाँगिएका तार भुइँमा खसाल्ने, केवल तान्ने (केवल पुल) सडक बाहिरबाट गर्ने, सडकको एक किनारााबाट अर्को किनारासम्म केवल लैजाँदा (क्रसिङ्) एउटै पोलबाट गराउने, यसमा कम्तीमा ५ सय मिटर दुरी कायम गर्ने, एउटै पोलबाट सबै सेवा प्रदायकको केवल पास गराउने, ट्रङ्क फाइबरको जोइन्ट लुप १२ मिटरभन्दा बढी नराख्ने जस्ता विषयमा साझा मत र योजना निर्माण गरेर काम थाले।

वितरण बक्स (डीबी बक्स) को लुप त्यही बक्सलाई घुमाएर मात्र राख्ने, हरेक पोलको दुवैतर्फ र हरेक ५ मिटरमा केवल बन्डलिङ् गर्ने सेवा प्रदायकले बनाएको योजना हो।

प्रकाशित: २५ बैशाख २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार