संसदमा गोकुल बास्कोटाको प्रश्न- “के डिजिटल हस्ताक्षर गर्ने कानून पास भयो ?”

  • Technology Khabar | २५ बैशाख २०८०, सोमबार
संसदमा गोकुल बास्कोटाको प्रश्न- “के डिजिटल हस्ताक्षर गर्ने कानून पास भयो ?”

काठमाडौं ।

अर्थमन्त्री डा. प्रकाश शरण महतले आइतवार संसदमा पेश गरेका विनियोजन विधेयक, २०८० मा भएका सूचना प्रविधिका विषयहरुले वर्तमान अवस्थालाई सम्बोधन नगर्ने सांसदहरुले जिकिर गरेका छन्।

आजदेखि संसदमा विनियोजन विधेयक, २०८० का सिद्धान्त र प्राथमिकताका बारेमा शुरु भएको छलफलमा सांसदहरु गोकुल बास्कोटा र डा. स्वर्णिम वाग्लले विश्वसँग प्रतिस्पर्धा गर्ने किसिमको अहिलेको सूचना प्रविधि हुनुपर्नेमा जोड दिएका छन्।

बैठकमा बोल्दै पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा नेकपा एमालेका सांसद गोकुल बास्कोटाले डिजिटल सिग्नेचरको कानून नल्याएकोमा रोष प्रकट गरे।

उनले भने, “यो सरकार गठन भएको २२/२४ महिना भयो। म सरकारलाई सोध्छु। के डिजिटल हस्ताक्षर गर्ने कानून पास भयो?”

उनले सुशासनको विषयमा डिजिटल इकोनोमीको कुरा गर्दैगर्दा सरकारी निकायमा यो कुरा कार्यान्वयनमा आयो कि आएन भनेर प्रश्न गरेका थिए।

यस्तै उनले डिजिटल साक्षरताको विषय समेत सरकारले कुनै कदम नचालेको भन्दै विनियोजन विधेयक, २०८० को सिद्धान्त र प्राथमिकतामा समेत यो नआएको बताए।

त्यसैगरी रास्वपाका सांसद डा. स्वर्णिम वाग्लेले विश्वभर प्रविधिमा यत्रो छर्लाङ्ग भईसकेकोमा डिजिटल इकोनोमीको कुरा गर्नु सकारात्मक भएको बताए।

“तर हामी वेबसाइटमा भएको फारामलाई डाउनलोड गर्नु नै आईटी फ्रेन्डली भनेर कुरा गरिरहेका छौं,” डा वाग्लेले भने।

उनले यत्रो आर्टिफिसियल इन्टेलिजेन्स, अटोमेसन, चौथो औधोगिक क्रान्तिले समाज र हाम्रा अर्थतन्त्रमा उथपपुथल भईरहेको तर्फ पनि ध्यानाकर्षण गराएका थिए।

प्रकाशित: २५ बैशाख २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार