
काठमाडौं ।
सामसङ ग्यालेक्सी जेड फोल्ड५ अपेक्षा गरिएको तालिका भन्दा पनि छिटो आइपुग्ने अनुमान गरिएको छ। तर कोरियाली समूहले यसको बारेमा केही पनि बताएको छैन्।
यसै क्रममा अनलीक्सले हालै मात्र ग्यालेक्सी जेड फोल्ड ५ को ३६० डिग्री भिडियो र फोल्डेबल स्मार्टफोनको फाइभ के रेन्डरहरू साझा गरेको जीएसएमएरिनामा उल्लेख गरिएको छ।
सामसङ ग्यालेक्सी जेड फोल्ड ५ लगभग आफ्नो पूर्ववर्ती फोल्ड ४ सँग मिल्दोजुल्दो देखिने भएकाले पहिलो झलकमा उक्त दुई फोनहरू बिचमा भिन्नता ठम्याउन नसकिने उल्लेख गरिएको छ। यद्यपि, नजिकबाट निरिक्षण गरेपछि भने सामसङ ग्यालेक्सी जेड फोल्ड४ मा क्यामरा आईल्याण्ड भित्र राखिएको एलईडी फ्ल्यास नोटिस गर्न सकिने र त्यसलाई सामसङ ग्यालेक्सी जेड फोल्ड५ मा भने माथिल्लो क्यामेराको दायाँ छेउमा राखिएको देख्न सकिने बताइएको छ।
गत वर्षको डिजाइन र नयाँ फोनको डिजाइनमा खासै ठूलो रूपमा परिवर्तन नगरिएको भएतापनि हिंज मेकानिजममा यस वर्षको सबैभन्दा उल्लेखनीय भिन्नता हुनेछ। फोल्ड५ ले स्मार्टफोन फोल्ड गर्दा ग्याप कम गर्न र यसलाई अनफोल्ड गर्दा डिस्प्ले क्रिज लुकाउन ड्रपलेट–स्टाइल हिंज प्रयोग गर्ने चर्चा रहेको छ।
स्रोतका अनुसार सामसङ ग्यालेक्सी जेड फोल्ड५लाई खोल्दा यसको मापन १५४.९ x १२९.९ x ६.३ मिमी र फोल्ड गर्दा १५४.९ x ६७.१ x १३.५ मिमी मापन रहेको छ। साथै फोल्ड गरिएको अवस्थामा स्मार्टफोनको मोटाई १३.४ एमएम हुनेछ। फोल्ड ४ मा फोल्ड गर्दा १५५.१ x ६७.१ x १४.२–१५.८ मिमी र खोल्दा १५५.१ x १३०.१ x ६.३ मिमी मापन रहेको उल्लेख गरिएको छ। फोल्ड गर्दा फोल्ड५ को मोटाईमा भएको कमीको लागि नयाँ हिंज मेकानिजमलाई श्रेय दिन सकिने बताइएको छ।
त्यसैगरी ग्यालेक्सी जेड फोल्ड५ को फोल्डिंग स्क्रिन डायगोनल्ली ७.६ इन्च मापनको रहेको र बाहिरी स्क्रिनको डायगोनल मापन ६.२ इन्च हुने स्रोतले दावी गरेको रिपोर्टमा उल्लेख छ। फोल्ड४ को डिस्प्लेको मापन पनि जेड फोल्ड५ को जस्तै समान रहेको तर फोल्ड५ कम आयामहरूसँग आउने भएकोले यसको बेजेलहरू पातलो हुने बताईएको छ।
सामसंग ग्यालेक्सी जेड फोल्ड५ र ग्यालेक्सी जेड फ्लिप ५ सँगसँगै जुलाईमा आधिकारिक रूपमा सार्वजनिक गरिने अफवाह रहेको छ।
प्रकाशित: १९ बैशाख २०८०, मंगलवार