विकट र दुर्गम वस्तीहरूमा मोबाइल सेवा बिस्तार गर्दै नेपाल टेलिकम

  • Technology Khabar | १० बैशाख २०८०, आईतवार
विकट र दुर्गम वस्तीहरूमा मोबाइल सेवा बिस्तार गर्दै नेपाल टेलिकम

काठमाडौं ।

नेपाल टेलिकमले व्यावसायिक लाभ मात्र नहेरी देशका अत्यन्त दुर्गम र विकट स्थानहरुमा पनि अत्याधुनिक दूरसञ्चार सेवाहरु उपलब्ध गराउँदै आएको जानकारी दिएको छ। सोही अनुरुप कम्पनीले यसै आर्थिक वर्षमा हुम्ला, मुस्ताङ, रुकुम, दार्चुला, म्याग्दी र बागलुङ लगायतका जिल्लाका विकट वस्तीहरुमा त्यहाँका वासिन्दाहरुको माग बमोजिम दूरसञ्चार सेवाहरु उपलब्ध गराएको जनाएको छ।

कम्पनीले उल्लेखित जिल्लाका दुर्गम वस्तीहरुमा मोबाइल सेवा प्रवाह गर्ने क्रममा फोरजी, थ्रीजी र टुजी सेवाहरु सञ्चालन गरेको हो । यस आ.व. मा सेवा उपलब्ध गराइएका कतिपय वस्तीहरुमा हालसम्म कुनैपनि सञ्चार सेवा उपलब्ध नभएका स्थानहरु पनि रहेको जानकारी दिएको छ।

दुर्गम र विकट स्थानमा सेवा उपलब्ध गराउँदा कम्पनीलाई व्यावसायिक रुपले लाभ हासिल नहुने भए तापनि सबै नेपालीहरुलाई अत्याधुनिक दूरसञ्चार सेवाहरु उपलब्ध गराउने दायित्व कम्पनीले पूरा गर्दै आएको उल्लेख छ।

टेलिकमकाअनुसार यस आ.व. मा बागलुङ जिल्लाका विकट स्थानका वस्तीहरु खानीगाउँ र सेवाको राम्रो पहुँच स्थापित हुन नसकेको ढोरपाटनमा सेवा विस्तार गरिएको छ।

यसैगरी म्याग्दी जिल्लाको रघुगंगा, चुमखोला, पात्लेखेत, जस्लावाङ र अन्नपुर्ण गाउँपालिकाका धेरै वस्तीहरुमा सेवा सञ्चालनमा ल्याइएको छ। दार्चुलाका छाङरु, जुम्ला र चन्दननाथमा अत्याधुनिक दूरसञ्चार सेवाहरु विस्तार गरिएको छ। रुकुम जिल्लाको सिस्ने गाउँपालिकाका विभिन्न वस्तीहरुहरु मुस्ताङको कागवेनी क्षेत्र, घरपझोङ गाउँपालिकाका विभिन्न वस्तीहरु र ताङवे, छाक्ताङ तथा हुम्लाको सिमकोटमा मोबाइल सेवा सञ्चालनमा ल्याइएको जानकारी दिएको छ।

हालसम्म सञ्चार सुविधा नभएको पेल्मामा कम्पनीको फोरजी सेवा

नेपाल टेलिकमले हालसम्म पनि दूरसञ्चार सेवा उपलब्ध नभएका देशका अत्यन्त दुर्गम र विकट वस्तीहरुमा अत्याधुनिक सञ्चार सेवाहरु उपलब्ध गराउँदै आएको छ। यस क्रममै रुकुम पूर्वको निकै विकट र हिमालको छेउमा रहेका मानव वस्तीहरुमा हालै कम्पनीले फोरजी सेवा सञ्चालन गरेको छ।

पुथा उत्तरगंगा गाउँपालिकाका वडा नम्बर १, २ र ५ का डेढ दर्जनभन्दा बढी वस्तीहरुमा अत्याधुनिक दूरसञ्चार सेवाहरु उपलब्ध हुनेगरी कम्पनीले फोरजी र टुजी सेवाहरु शुरु गरेको हो । यही चैत १९ गते भालिपो र त्रिवरमा स्थापना गरिएका दुईवटा टावरहरुबाट सेवा सञ्चालन गरेको हो।

सो गाउँपालिकाको वडा नम्बर १ का वडाध्यक्ष वीरमान कामीले ती दुई टावरहरुवाट ५ हजारभन्दा बढी स्थानीयवासीले मोबाइल र इन्टरनेट चलाउन पाएका बताए। उनकाअनुसार सो क्षेत्रका वडा १ का केही भाग, वडा २ का सम्पूर्ण गाउँहरु र वडा ५ को काजरजंगमा मोबाइल चलेको छ।

प्रकाशित: १० बैशाख २०८०, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार