पठाओको बारेमा डिएभीका शिक्षकले गरेको अपमान प्रति पठाओ नेपालको आपत्ति

  • Technology Khabar | ८ बैशाख २०८०, शुक्रबार

काठमाडौं ।

ललितपुरको डिएभी (सुशील केडिया विश्वभारती) स्कूलले पठाओको नाम जोडेर राखेको धारणा प्रति राइड सेयरिङ्ग कम्पनी पठाओ नेपालले आपत्ति व्यक्त गरेको छ।

केहि दिनअघि लेखक तथा निर्देशक उपेन्द्र सुब्बाले डिएभी स्कुलका शिक्षक, भाइस प्रिन्सिपलले सो स्कुलकी विद्यार्थी तथा आफ्नी छोरीलाई अपमाजनक व्यवहार गरेको भन्दै फेसबुकमा लामो स्टाटस लेखेका छन्।

कक्षा ९ मा अध्ययन गर्ने छोरीलाई भाइस प्रिन्सिपलसहित अरु दुई जनाले होच्याएर, हेपेर, गिज्याएर हाँस्दै दुई पटकसम्म अपमानजक व्यवहार गरेको सुब्बाले सामाजिक संजालमार्फत गुनासो गरेका छन्। ‘यो बच्चालाई हामी पढाउन सक्दैनौं ।, अन्त स्कुल लानु यहाँ यिनलाई सिकाउने कुनै औषधि छैन, यिनले पढ्नै सक्दैन, जोशी सरले पढेर केही गरी खान सक्दैन बरु एउटा स्कुटी किन्दिनु पठाओ चलाएर खान्छ भनेछन्,’ स्टाटसमा उनले लेखेका छन् ।

सोही विषयमा आफ्नो संस्थालाई जोडिएकोमा पठाओले विद्यालयको नाम उल्लेख नगरिकन नै ध्यानाकर्षण भएको भन्दै आपत्ति व्यक्त गरेको हो।

पठाओ नेपालका प्रवन्ध निर्देशक असिममान सिंह बस्न्यातले जारी गरेको विज्ञप्तीमा केही दिन अघि ललितपुरको एक स्कुलमा अध्यनरत विद्यार्थीका अभिभावकले सामाजिक सञ्जालमा आफ्नी छोरीलाई विद्यालयमा गरिएको दुर्व्यवहार उल्लेख गरेको भन्दै उक्त बिषयमा विद्यालयका प्रतिनिधिले पठाओको नाम जोडेर राखेको धारणाप्रति कम्पनीको ध्यानाकर्षण भएको जनाएको छ।

अभिभावकले सामाजिक सञ्जालमा उल्लेख गरेअनुसार सो स्कुलका भाइस प्रिन्सिपल सहित अन्य दुई जना शिक्षकले ‘यो बच्चाले पढेर केही गरि खान सक्दैन, बरु एउटा स्कुटी किन्दिनु, पठाओ चलाएर खान्छ’ भनेको उल्लेख गरिएको बस्न्यातले भनेका छन्।

“सबै पेशालाई सम्मान गर्न सिकाउनुपर्ने शिक्षकहरूबाटै यस्तो किसिमको अभिव्यक्ति आउनु अत्यन्तै दुःखद् हो । केही गर्न नसकेपछि पठाओ चलाउनेभन्दा पनि विभिन्न पेशा र ब्यवसायमा आवद्ध व्यक्तिहरूले आफ्नो अनुकूलको समयमा पठाओलाई अतिरिक्त आम्दानीको माध्यम बनाइरहनु भएको छ,” उनले भनेका छन्, “उपत्यका भित्र तथा उपत्यका बाहिरसमेत जनजीविकालाई सहज बनाउँदै आवात जावातमा समेत सहजता प्रदान गर्न हाम्रा क्याप्टेन, राइडर र फुडम्यान साथीहरूको संलग्नताप्रति हामी गर्व गर्दछौँ ।”

विद्यालय स्तरमा नै सबै किसिमका पेशा र ब्यवसायप्रति विद्यार्थीलाई जानकारी दिने र स-सम्मान काम गर्न अभिप्रेरित गरिनुपर्नेमा, शिक्षक वर्गले दिएको गलत अभिव्यक्ति भोलिका दिनमा फेरी नदोहोरिनेमा बिश्वास राख्ने पठाओ नेपालले भनेको छ।

प्रकाशित: ८ बैशाख २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया

ताजा समाचार