
काठमाडौं ।
महानगरपालिका क्षेत्रभित्र सीसीटिभी (क्लोज सर्किट टेलिभिजन) क्यामरा जडान र सञ्चालन गर्न काठमाडौँ महानगरपालिकाले नेपाल प्रहरीलाई ६ करोड रुपैयाँ उपलब्ध गराउने भएको छ ।
सहरको शान्ति सुरक्षा, अपराध नियन्त्रण, दुर्घटना, फोहरमैला व्यवस्थापन, फुटपाथ अतिक्रमण, प्रदुषण, सार्वजनिक सम्पत्तिको उपयोगजस्ता सहरी सुशासन र महानगरपालिकाको कार्य सम्पादनलाई सूचना प्रविधि प्रणालीमा आवद्ध गराउन महानगरपालिकाले नेपाल प्रहरीलाई रकम उपलब्ध गराउने भएको हो।
यसका लागि आज प्रमुख बालेन्द्र शाह (बालेन) को रोहबरमा प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी र काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवाली बिच सम्झौता पत्रमा हस्ताक्षर भएको छ।
सो अवसरमा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले नेपाल प्रहरीसँग आगामी दिनमा समेत सहकार्य र समन्वय गर्दै अगाडि बढ्ने बताए। ‘सहरलाई व्यवस्थापन गर्ने र सार्वजनिक सरोकार जस्ता विषयमा नेपाल प्रहरीसँग सहकार्य जारी छ। यो नियमित हुनेछ।’ प्रमुख शाहले भने।
काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ज्ञवालीले सिसीटिभी क्यामरा जडानले शान्ति सुरक्षाका साथै आपराधिक क्रियाकलाप नियन्त्रणमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्दै आउँदा दिनमा समेत महानगरपालिकासँग सहकार्य गर्दै जाने बताए ।
काठमाडौँ क्षेत्रभित्र शान्ति सुरक्षा, अमनचैन, पारदर्शी सहरी व्यवस्थापन, अपराध नियन्त्रण, दुर्घटना न्यूनीकरण, फोहरमैला व्यवस्थापन, फुटपाथ अतिक्रमण, प्रदूषण न्यूनीकरण, सार्वजनिक सम्पत्ति संरक्षण, नदी किनारा तथा सांस्कृतिक एवं सम्पदा क्षेत्रहरूको संरक्षण, सार्वजनिक यातायात व्यवस्थापन, रात्रिकालीन आवागमनका लागि सिसीटिभी अतिउपयोगी हुन्छ। त्यसका लागि काठमाडौँ महानगरपालिकाले प्रहरीलाई रु ६ करोड उपलब्ध गराउने सम्झौतापत्रमा उल्लेख गरिएको छ।
उपलब्ध गराइने रकममध्ये ५० प्रतिशत अर्थात् ३ करोड रुपैयाँ आउँदो १५ दिन भित्र र बाँकी रकम खरिद सम्झौताबमोजिम कार्य सम्पादन भएपछि भुक्तानी दिइनेछ।
साथै सिसीटिभी जडान गरिने विभिन्न स्थान दुवै पक्षको सहमतिमा यकिन गरिने तथा जडान हुने सिसीटिभी प्रणाली नेपाल प्रहरीले निर्धारण गरेको मापदण्डअनुसारको हुनेसमेत सम्झौतापत्रमा उल्लेख गरिएको छ।
सम्झौताबमोजिम राखिने सीसीटिभी क्यामराहरु पीटीजेड (प्यान, टिल्ट, जुम) विशेषताका हुनेछन् । क्यामरा जडान भएका ठाउँहरुमा रात्रीकालीन दृश्य हेर्नका लागि सडक वत्तीको व्यवस्था गरिनेछ। निगरानी कक्षका लागि छुट्टै वैकल्पिक पावर सिस्टमको व्यवस्था गरिनेछ। महानगरको भौगोलिक क्षेत्रभित्र दुवै पक्षको नीति र आवश्यकताका आधार सीसीटिभी राख्ने स्थान एकिन गरिनेछ।
सूचना प्रविधि विभागका प्रमुख नमराज ढकालका अनुसार यसअघि २०७५ फागुन १५ गते सम्झौता गरेर महानगरले प्रहरीलाई ३ करोड रुपैयाँ उपलब्ध गराएको थियो । त्यस सम्झौताबमोजिम जडान गरिएका १६५ वटा सीसीटिभी क्यामरामध्ये अहिले १५८ वटा चालु अवस्थामा छन् । राखिएकामध्ये सडक विस्तारका क्रममा ७ ओटा प्रयोग विहिन भए।
उपत्यका प्रहरी कार्यालय रानीपोखरीकाअनुसार उपत्यकामा भएका ३ हजार २३१ सीसीटिभी क्यामरामध्ये १ हजार ५१ ओटाको दृश्य कन्ट्रोल रुमबाट निगरानी हुन्छ।
प्रकाशित: ८ बैशाख २०८०, शुक्रबार