वैदेशिक रोजगारीको अनलाइन आवेदनमा ढिलाई हुन थालेपछि सिस्टम अडिट लागू

  • Technology Khabar | ५ बैशाख २०८०, मंगलवार
वैदेशिक रोजगारीको अनलाइन आवेदनमा ढिलाई हुन थालेपछि सिस्टम अडिट लागू
फाइल तस्बिर।

काठमाडौं ।

वैदेशिक रोजगार कार्यालयबाट हुने सेवालाई थप चुस्त र पारदर्शी बनाउन थालिएको छ। वैदेशिक रोजगारीमा जानेले अनलाइनबाट आवेदन दर्ता गरेर आएपछि पनि वैदेशिक रोजगार कार्यालयको शाखा/शाखामा जानुपर्ने बाध्यता अन्त्य गर्दै सोमबारदेखि एउटै शाखाबाट सेवा दिन थालिएको हो।

सो कार्यालयका सूचना अधिकारी वसन्तबहादुर बोहोराले पहिले सातवटा शाखाबाट हुने कामलाई सोमबारदेखि संस्थागत र व्यक्तिगत दुई शाखा बनाएर सेवा दिन थालेको जानकारी दिए। उनले भने, “यसअघि धेरै शाखाबाट काम हुँदा कुनै शाखामा धेरै काम र कुनै शाखामा काम नहुने अवस्था थियो, अब त्यस्तो हुँदैन। काममा सन्तुलन हुन्छ, यसले गर्दा सेवाग्राहीलाई धेरै पर्खिनु पर्दैन।”

सो कार्यालयका अनुसार संस्थागत, काठमाडौँ अन्तिम, मलेसिया अन्तिम, कतार अन्तिम र साउदी अरब अन्तिम भनेर छुट्टाछुट्टै शाखा भएकामा सबैलाई एउटैमा संस्थागत शाखा ल्याई सेवा दिन सुरु गरिएको छ। यस्तै अर्को व्यक्तिगत र नवीकरण गरेर दुईवटा शाखालाई व्यक्तिगत शाखा बनाएर सेवा दिन थालेको सो कार्यालयले जनाएको छ।

कार्यालय प्रमुखदेखि सबै कर्मचारी एउटै हलमा राखिएका डेस्कहरूबाट सेवा प्रवाह गर्नेछन्। यसले थप पारदर्शिता हुनुका साथै काममा सहजता आउने कार्यालयका सूचना अधिकारी बोहोराको भनाइ छ।

यसैबीच श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सदियौँदेखि जकडिएको ‘लुट’को जालो भत्काउँदै मन्त्रालयबाटै ‘सिस्टम अडिट’ सुरु गरेको छ। देशभरका कार्यालयबाट सम्पादन हुने काम अनुगमन गर्न सिस्टम जडान गरिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार यसले कुन कार्यालयले कुन काम कति अवधिदेखि अड्काएको छ भन्नेसम्म हेर्न सकिनेछ भने बिनाकारण अड्काएको भेटिए त्यस्ता कर्मचारीलाई तत्काल कारबाहीसम्म गर्न सकिनेछ। वैदेशिक रोजगारका सबै सेवा अनलाइन बनाइसकेको श्रम मन्त्रालयमा अहिले पनि ठगीका, काममा भएका ढिलासुस्तीका गुनासो आउने क्रम नरोकिएपछि सिस्टम अडिट लागू गरेको हो।

श्रम मन्त्रालयका सचिव एकनारायण अर्यालले दशकौँदेखि जकडिएको जन्जाल एकैचोटि तोड्न सम्भव नभए पनि कर्मचारी नेतृत्वबाट इमानदार प्रयास रहेमा धेरै हदसम्म सुधारको सम्भावना रहेको बताए। गोरखापत्रबाट

प्रकाशित: ५ बैशाख २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार