
काठमाडौं ।
काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेलस्थित काठमाडौं विश्व विद्यालय (केयु) ले जिल्लाका विकटदेखि सुगमसम्मका विद्यार्थीहरूलाई विश्वविद्यालयको विज्ञान ल्याबहरूको प्रत्यक्ष अबलोकन गराउन सुरु गरेको छ।
विश्वविद्यालयले काभ्रेका १३ वटा स्थानीय तह अन्तर्गतका विभिन्न विद्यालयका कक्षा ११ र १२ मा विज्ञान विषय अध्ययन गरिरहेका विद्यार्थीहरुलाई लक्षित गर्दै विज्ञान तथा ईन्जिनियरिङका प्रयोगशालाको स्थलगत अवलोकन कार्यक्रम सुरु गरेको हो।
विश्व विद्यालयका सामुदायिक सम्बन्ध बिस्तार महाशाखा प्रमुख किशोर खनालले शैक्षिक अवलोकन भ्रमणको रुपमा काभ्रेका जुनसुकै माध्यमिक तहका विद्यालयका विद्यार्थीहरूले विज्ञान प्रयोगशाला हेर्न सक्ने बताए।
शैक्षिक गुणस्तर तथा सामुदायिक सम्बन्ध बिस्तार गर्न काठमाडौँ विश्वविद्यालयले माध्यमिक तहमा विज्ञान विषय अध्ययन गरिरहेका विद्यार्थीहरूलाई विज्ञान तथा ईन्जिनियरिंङ प्रयोगशालाको स्थलगत अवलोकन कार्यक्रम सुरु गरेको प्रमुख खनालले बताए।
सोमबार एक अनौपचारिक कार्यक्रमका बिच बेलर ईन्टरनेसनल एकेडेमीका कक्षा ११ र १२ मा अध्ययनरत करिब एक सय भन्दा धेरै विद्यार्थीहरूले विज्ञान प्रयोगशाला अवलोकन भ्रमण गरेका छन्।
माध्यमिक तहका विद्यालयहरूमा न्यून बजेटका विज्ञान ल्याब तथा प्रयोगशाला हुने भएकोले विद्यार्थीहरूले अझ बिस्तार र ठुलो आधुनिक प्रयोगशालामा विस्तृत बुझ्न र अवलोकन गर्न सक्ने प्रमुख खनालले बताए। उनले जिल्लाका चौंरीदेउराली, महाभारत गाउँपालिका जस्ता ठाउँका विद्यार्थीहरूलाई पनि विज्ञान ल्याब तथा प्रयोगशाला भ्रमणका लागि आउन र जान यातायातको समेत व्यवस्था गर्ने आफूहरूको योजना रहेको उल्लेख गरे।
बेलर ईन्टरनेसनल एकेडेमीका विज्ञान शिक्षक सुरज श्रेष्ठले आफ्ना विद्यार्थीहरूले केयुको विज्ञान ल्याब तथा प्रयोगशाला उत्साहपूर्वक अवलोकन गरेको बताउँदै स्कुल र यहाँको प्रयोगशालामा ठुलो भिन्नता पाएको बताए। केयु लाई धन्यवाद दिँदै उनले यस्तै अवलोकन भ्रमण अन्य विद्यालयले पनि गर्नुपर्ने बताए।
पहिलो अवलोकन भ्रमण गर्न काठमाडौँ विश्व विद्यालय पुगेका बेलर एकेडेमीका विद्यार्थीहरूले विज्ञान ल्याब तथा प्रयोगशाला अवलोकन गर्न पाउँदा खुसि लागेको बताउँदै स्कुलको नमुना प्रयोगशाला भन्दा यहाँ ठूला-ठूला र वास्तवमै काम गर्ने प्रकारको ल्याब रहेको बताए।
बेलर इन्टरनेसनल एकेडेमीका एक विद्यार्थी अभिषेक रेग्मीले विज्ञान प्रविधि सम्बन्धी ल्याबहरू हेर्न पाउँदा आफूहरू उत्साहित र खुसी भएको बताउँदै यस्ता प्रयोगशाला अवलोकन गर्दा आफूहरूको पढाइमा समेत धेरै सहयोग पुग्ने बताए।
त्यस्तै अर्की विद्यार्थी मनिषा न्यौपानेले विज्ञान प्रविधिसँग सम्बन्धित कुराहरू पढ्दा भन्दा विश्वविद्यालयको ल्याबमा आएर हेर्दा आफूले धेरै कुराहरू बुझ्ने मौका पाएको बताउँदै काठमाडौँ विश्वविद्यालयले विद्यार्थीहरूलाई अध्ययनका लागि अवलोकन भ्रमण राखेकोमा धन्यवाद दिए।
काभ्रेपलाञ्चोक जिल्लाका विद्यालयमा पढ्ने विद्यार्थीहरूलाई विश्वविद्यालयको सामुदायिक सम्बन्ध बिस्तार महाशाखाले समुदाय र विश्वविद्यालयको बिचमा पुलको काम गर्दै आएको छ। रेडियो नेपालबाट
प्रकाशित: २५ चैत्र २०७९, शनिबार