Technology Khabar २५ चैत्र २०७९, शनिबार
काठमाडौं ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आधिकारिक फेसबुक पेज लामो अवधिपछि पुनः सञ्चालनमा आएको छ। प्रधानमन्त्रीको स्वकीय सचिवालयको आइटी टिमको पहलमा उक्त पेज पुनः सञ्चालनमा आएको हो।
भेरिफाइड उक्त पेज विगत दुई वर्षदेखि अवरुद्ध रहँदै आएको थियो। सरकारका कामको एकीकृत प्रचार र सूचना संयन्त्रलाई व्यवस्थित गर्न प्रधानमन्त्रीको सचिवालय टिमले सबै सामाजिक सञ्जाललाई सञ्चालनमा ल्याउने योजनाअनुरूप आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा ल्याइएको हो।
“सार्वजनिक सेवामा जनताको सहज पहुँच सुनिश्चित गर्न तथा सुसुचित गर्न सामाजिक सञ्जालको महत्वपूर्ण भूमिका रहेकोमा यो फेसबुक पेजमार्फत् जनता र सरकारबीचको सम्बन्ध समेत बलियो हुने विश्वास लिएका छौं,” पेजमा भनिएको छ।
प्रधानमन्त्री कार्यालयले नेपाल सरकारको मातहतमा रहेका सबै कार्यालयहरूले फेसबुक, ट्विटर, टिकटक, इन्स्टाग्राम लगायत सामाजिक सञ्जालहरू प्रयोग गर्ने गरी निर्देशिकाको मस्यौदासमेत तयार गरिसकेको छ। उक्त निर्देशिका मन्त्रिपरिषद् बैठकबाट पारित भएसँगै कार्यान्वयनमा आउने छ।
“सरकारी कार्यालयले सामाजिक सञ्जाल प्रयोग गर्ने सम्बन्धी निर्देशिका २०८०” नाम दिइएको उक्त प्रस्तावमा सङ्घ, प्रदेश र स्थानीय तहसम्म सामाजिक सञ्जालको व्यवस्थित प्रयोग गर्ने र सोका लागि सबै तहका सामाजिक सञ्जालको एकीकृत भेरिफाइड गर्ने पनि प्रस्ताव गरिरहेको छ।
निर्देशिका सञ्चालनमा आएपछि नेपाल सरकारका तीनै तहका सबै कार्यालय र निकायहरूले तोकिएका सामाजिक सञ्जालहरूको अनिवार्य प्रयोग गर्नेछन्। यसबाट सरकारी कामकाज र सेवाको सेवाग्राहीमा व्यवस्थित प्रचार र सूचना सम्प्रेषण हुने अपेक्षा गरिएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आधिकारिक फेसबुक पेजका माध्यमबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायत नेपाल सरकारका विभिन्न गतिविधि, सूचना सामग्रीलगायत नियमित सम्प्रेषण हुने जानकारी दिईयो।
प्रकाशित: २५ चैत्र २०७९, शनिबार