क्रिप्टोकरेन्सी, भर्चुअल करेन्सीलगायतको कारोबार नगर्न राष्ट्र बैङ्कको चेतावनी

  • Technology Khabar | २१ चैत्र २०७९, मंगलवार
क्रिप्टोकरेन्सी, भर्चुअल करेन्सीलगायतको कारोबार नगर्न राष्ट्र बैङ्कको चेतावनी

काठमाडौं ।

नेपाल राष्ट्र बैङ्कले अभौतिक मुद्राहरूमा लगानी तथा कारोबार नगर्न पुनः आग्रह गरेको छ। राष्ट्र बैङ्कले क्रिप्टोकरेन्सी, भर्चुअल करेन्सी, नेटवर्क मार्केटिङ, नन–फन्जिबल टोकन, डिजिटल सम्पत्ति र हाइपर फन्डजस्ता कारोबार गैरकानुनी रहेको भन्दै त्यसमा संलग्न भएमा कारबाहीसमेत हुने चेतावनी दिएको छ।

केन्द्रीय बैङ्कले सोमबार विज्ञप्ति जारी गर्दै यस्ता कारोबार नेपालभित्र बसोबास गर्ने नागरिक, फर्म, कम्पनी संस्था मात्र नभई विदेशी र नेपालबाहिर बसोबास गर्ने सबै नेपाली नागरिकसमेत यसमा संलग्न नहुन सचेत गराएको हो। दर्ता भएर नेपालबाहिर रहेका फर्म, कम्पनी संस्था तथा त्यस्ता कम्पनी वा संस्थाका शाखा कार्यालय तथा एजेन्सीसमेतले कुनै पनि भर्चुअल करेन्सी–क्रिप्टोकरेन्सी कारोबारमा संलग्न भएको पाइए नेपाल राष्ट्र बैङ्क ऐन २०१९ को दफा १२ बमोजिम कारबाही हुने जनाएको छ।

यसअघि पनि केन्द्रिय बैंकले भर्चुअल करेन्सी–क्रिप्टोकरेन्सीलगायतका कारोबारमा संलग्न नहुन चेतावनी दिँदै आएको छ।

नेपालमा विदेशी विनिमय मुद्राको रूपमा भर्चुअल करेन्सी–क्रिप्टोकरेन्सीले मान्यता पाएको छैन्। नेपालमा कानुनी ग्राह्य नभएको, नेपाल सरकारको जमानत प्राप्त नभएको र राष्ट्र बैङ्क निष्कासन नगरेको तथा कुनै पनि सुरक्षण नभएकाले यस्तो कारोबार गैरकानुनी हुने स्पष्ट पारेको छ।

बैंकले यसअघि यस्ता कारोबारमा संलग्न रहेका नेपालीहरुलाई कारबाही समेत गरेको छ।

प्रकाशित: २१ चैत्र २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...