Technology Khabar २७ भाद्र २०७४, मंगलवार
काठमाडौं ।
काठमाडौं, २७ भदौ । एप्पलले बहुप्रतिक्षित फोन आइफोन ८ मंगलवार आज सार्वजनिक गर्दैछ । कम्पनीले ल्याउने नयाँ आइफोनको बारेमा विभिन्न चर्चाहरु हुँदै आएका छन् ।
कम्पनीले आज तीन मोडलका आइफोनहरु सार्वजनिक गर्ने जानकारीहरु बाहिर आएका छन् । जसमा आइफोन ८ (iPhone 8), आइफोन ८ प्लस (iPhone 8 Plus) र आइफोन एक्स (iPhone X) रहेको बताईएको छ ।
कम्पनीले आज राती नेपाली समयअनुसार करिब ११:४५ बजे नयाँ आइफोन सार्वजनिक गर्ने इभेन्ट राखेको छ । यो इभेन्ट विभिन्न वेबसाइटबाट लाइभ पनि हेर्न सकिन्छ । एप्पलले यो इभेन्ट आफ्नै मुख्यालय रहेको क्यालिफोर्निया, कुपर्टिनोमा रहेको एप्पल पार्क क्याम्पसको स्टीव जब्स थिएटरमा आयोजना गर्दैछ ।
विभिन्न जानकारीहरुले आइफोनमा हुने नयाँ विशेषताहरुको बारेमा पनि उल्लेख गरेका छन् । जसमा आइफोन ८ र ८ प्लसमा एलईडी डिस्प्ले प्रयोग गरिनेछ भने आइफोन एक्समा बेजेललेस ओएलईडी डिस्प्ले राखिनेछ ।
एप्पलले आफ्नो १० औं वार्षिकोत्सवको अवसर पारेर विशेष फोनको रुपमा आइफोन एक्स ल्याउन लागेको हो ।
आइफोन ८ तथा आइफोन ८ प्लस भने यसअघि गत वर्ष सार्वजनिक भएको आइफोन ७ र ७ प्लसको अपग्रेडेड भर्सनको रुपमा आउँछ ।
यसको डिजाइन करीब करीब पुरानै हुनेछ । यसमा पछाडिको भागमा ग्लास राखिनेछ भने ए ११ चीप, र वायरलेस चार्जिंग सुविधा राखिनेछ ।
कम्पनीले ल्याउने विशेष आइफोन एक्समा भने नयाँ विशेषताहरु राखिएका छन् । यो फोन आइफोनको सबैभन्दा प्रिमियम फोनको रुपमा आउनेछ । यसमा ५.८ इन्चको ओएलईडी डिस्प्ले राखिनेछ । यसमा निकै कम बेजेल हुनेछ माथिल्लो भागमा फ्रन्ट क्यामरा, ईयरपिस र थ्रीडी सेन्सरको लागि छुट्याईएको छ ।
एप्पलले ल्याउने आइफोनको केहि मुख्य विशेषताहरु यस्ता छन् ।
नयाँ कलर
एप्पलले नयाँ आइफोनहरुका साथमा नयाँ कलर पनि घोषणा गर्ने अनुमान गरिएको छ । जसमा रेड कलरको एप्पल पनि हुनसक्ने अनुमान गरिएको छ । यसका साथै नयाँ आइफोनमा क्रेडिट कार्ड पे फिचर पनि हुनसक्ने अनुमान गरिएको छ ।
डिजाइन
नयाँ आइफोनमा सबैभन्दा ठूलो परिवर्तन डिजाइनमा गर्न लागिएको छ । यसमा बेजेललेस ओएलईडी डिस्प्ले पहिलो पटक प्रयोग गरिँदैछ । यस्तो प्रकारको डिजाइन आइफोनमा आएमा यो अहिलेसम्मकै सबैभन्दा ठूलो परिवर्तन हुनेछ । यसअघि आइफोनमा बेजेललेस डिस्प्ले प्रयोग भएको थिएन् ।
फेस स्क्यानिङ्ग क्यामरा
नयाँ आइफोन ८ मा नयाँ विशेषतासहितको क्यामरा राखिनेछ । यसको फ्रन्ट क्यामरामा थ्रीडी फेस स्क्यानिङ्ग प्रविधि राखिएको अनुमान छ । जसको सहयोगबाट तपाईँले आइफोनको डिस्प्लेमा हेरेर नै फोन अनलक गर्न सक्नुहुनेछ । अहिलेसम्म आइफोन अनलक गर्नको लागि टच आईडी सेन्सर प्रविधिको प्रयोग हुँदै आएको छ ।
वायरलेस चार्जिंग
एप्पलले नयाँ आइफोन ८मा वायरलेस चार्जिंग प्रविधि प्रयोग गर्न सक्ने संभावना छ । कम्पनीले हालसम्म आइफोनमा क्यूआई चार्जिंग प्रविधिको प्रयोग गरिरहेको छ तर यो पटक भने कम्पनीले वायरलेस चार्जिंगको अप्सन दिँदैछ ।
टच आइडीमा परिवर्तन
एप्पलको टच आइडी होम बटनको बारेमा निकै चर्चा रहेको छ । कम्पनीले आइफोनबाट फिजिकल टच आइडी हटाउन सक्ने बताईएको छ । तर यसको स्थानमा कस्तो फिचर आउँछ भन्ने अझै स्पष्ट भएको छैन् । कम्पनीले टच आइडीलाई डिस्प्लेमा नै इन्टिग्रेट गर्न सक्ने अनुमान गरिएको छ ।
मूल्य
रिपोर्टहरुका अनुसार आइफोनको मूल्य १,००० अमेरिकी डलर हुनसक्नेछ । यो अहिलेसम्मकै सबैभन्दा महंगो आइफोनको रुपमा आउने अनुमान गरिएको छ । यसअघि आइफोन सेभेनको सबैभन्दा महंगो भेरिएन्ट ९६९ अमेरिकी डलरमा सार्वजनिक भएको थियो ।
एप्पलले यसका साथमा नयाँ आइवाच, एयरपड र फोरके एप्पल टिभी पनि घोषणा गर्ने अपेक्षा गरिएको छ ।
प्रकाशित: २७ भाद्र २०७४, मंगलवार