मनाइयो ‘युनिभर्सल एसप्टेन्स डे’, स्थानीय भाषामा डोमेन प्रणालीको व्यवस्थापन गर्न सरोकारवालाको जोड

  • Technology Khabar | १६ चैत्र २०७९, बिहीबार
मनाइयो ‘युनिभर्सल एसप्टेन्स डे’, स्थानीय भाषामा डोमेन प्रणालीको व्यवस्थापन गर्न सरोकारवालाको जोड

काठमाडौं ।

हरेक वर्षको २८ मार्चमा मनाइने युनिभर्सल एसप्टेन्स (यूए) डे नेपालमा पनि मनाइएको छ। कम्प्युटर एसोसिएन नेपाल महासंघ (क्यान महासघ) र युथ आईजीएफ नेपालको संयुक्त आयोजनामा इन्टरनेट करपोरेसन फर असाइन्ड नेम्स एन्ड नम्बर्स (आईक्यान) सँगको समन्वयमा मंगलबार काठमाडौंमा एक विशेष कार्यक्रम गर्दै मनाइएको हो।

धेरै भाषा तथा लिपीमा डोमेन सपोर्ट गराउने उद्देश्यले विश्वभर नै इन्टरनेटको सार्वभौमिक स्वीकृति अर्थात् युनिभर्सल एसप्टेन्स डे मनाउने गरिन्छ।

सेलिब्रेटिङ युनिभर्सल एसप्टेन्स डेः प्रोमोटिङ युनिभर्सल एसप्टेन्स डे एन्ड इन्टरनेसनलाइज्ड डोमेन नेम इन नेपाल (Celebrating Universal Acceptance Day: Promoting Universal Acceptance and Internationalized Domain Name in Nepal) शीर्षकमा गरिएको कार्यक्रममा नीति निर्माता, सरकारी अधिकारीहरू, इन्टरनेट सेवाप्रदायक, कानून व्यवसायी, नागरिक समाज, इन्टरनेट गभर्नेन्स, क्यान महासंघका संस्थागत, वस्तुगत, व्यक्तिगत तथा प्रदेश–जिल्लाका सदस्यज्यूहरुको पनि उपस्थिति तथा आईसीटी क्षेत्रमा अन्य क्रियाशील व्यक्तिहरूको उपस्थिति रहेको थियो।

सो अवसरमा बोल्ने वक्ताहरूले सबै वैध डोमेन नेम तथा ईमेल एड्रेस सबै खालका इन्टरनेट एप्लिकेसन, डिभाइस तथा सिस्टमले उपयोग गर्नसक्ने कुराको सुनिश्चितता गराउन यो दिवसले महत्त्वपूर्ण भूमिका खेलेको भनाइ राखेका थिए।

इन्टरनेट करपोरेसन फर असाइन्ड नेम्स एन्ड नम्बर्स (आईक्यान) ले देवनागरीसहित विभिन्न विदेशी भाषामा ईमेल गर्न तथा वेबसाइट अपलोड गर्न दिने स्वीकृति प्रदान गरेकाले यस्तो दिवस महत्त्वपूर्ण रहेको क्यान महासंघका अध्यक्ष रञ्जीत पोदारले बताए।

कार्यक्रममा सबडोमेनको महत्त्व के छ, यसबाट वेबसाइट होस्ट गर्दा के-के फाइदा हुन्छन्, यसले स्थानीय भाषा र संस्कृतिको प्रवर्द्धन कसरी गर्न सक्छ, विदेशमा कस्तो अभ्यास भइरहेको छ र नेपालमा कसरी प्रयोगमा ल्याउन सकिन्छ भन्ने विषयमा सरोकारवालाले आफ्नो राय दिएका थिए।

सो अवसरमा विद्युतीय सुशासन आयोगमन प्रमुख कार्यकारी अधिकृत दिपेश विष्टले नेपालमा सम्बन्धित निकायहरूबीच उचित सहकार्य हुन नसकिरहेको चर्चा गर्दै यससम्बन्धी उपयुक्त नीतिगत व्यवस्था गर्न आवश्यक रहेको धारणा राखे । उनले देवनागरीसहित ग्रामीण क्षेत्रका समुदायको स्थानीय भाषालाई सपोर्ट गर्नेगरी डोमेन प्रणालीको व्यवस्था गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा ‘डोमेन नेम र ईमेल एड्रेसको युनिभर्सल एसप्टेन्स’ विषयमा युथ आईजीएफ नेपालका सदस्य विवेक सिलवालले कार्यपत्र प्रस्तुत गरेका थिए । त्यस्तै दुई फरक विषयमा प्यानल छलफल समेत गराइएको थियो ।

त्यस्तै नेपाल जस्तो विभिन्न भाषिक समुदाय भएको देशमा इन्टर डोमेन प्रणालीलाई स्वीकार गर्नु उदाहरणीय भएको भन्दै सरोकारवाला र जनमानसमा वृहत् छलफल र सचेतना अभिवृद्धि गर्न यस्तो दिवस मनाइएको क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारीले बताए।

साथै वक्ताहरूले यो दिवसलाई आगामी वर्षमा पनि नियमित रुपमा मनाइन र सर्वसाधारणमाझ चेतना विस्तार गर्न सुझाव दिएका थिए।

प्रकाशित: १६ चैत्र २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...