
काठमाडौं ।
– निर्दोष घोरसाइने
काठमाडौंको सिंहदरबारस्थित राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआईटीसी) भित्र रहेको सरकारी एकीकृत डाटा सेन्टर (जीआईडीसी) थप सेवा दिन नसक्ने अवस्थामा पुगेको छ।
जीआईडीसी पूर्ण क्षमतामा प्रयोगमा आइसकेकाले थप सेवा दिन नसकिएको एनआईटीसीका सूचना अधिकारी रमेशप्रसाद पोखरेलले टेक्नोलोजीखबरलाई जानकारी दिए।
‘जीआईडीसीबाट सेवा लिन सरकारी निकायबाट आउने निवेदनको चाङ लागेको छ,’ पोखरेलले भने, ‘माग धेरै भएकाले सेवा उपलब्ध गराउन सकिएको छैन।’
२०७२ सालको भुकम्प पछि सरकारी क्षेत्रमा सर्भरको माग उच्च रहँदै आएको छ। गत वर्ष नै एनआईटीसीले आफ्नो क्षमता विस्तारका लागि टेन्डर आह्वान गरेको थियो। टेन्डर प्रक्रियाबाट आवश्यक उपकरण आईसकेका छन्। अबको १५ दिन भित्रमा क्षमता विस्तार गरेर थप सेवा उपलब्ध गराउने योजनामा एनआईटीसी रहेको छ। डाटा सेन्टरको पूर्वाधार विस्तारबाट करिब १ सय ५० नयाँ सर्भर होस्ट गर्न सकिन्छ।
हालसम्म सर्भरका लागि करिब ३ सय जति आवेदन आएको आएका छन्। विस्तार क्षमताबाट प्राप्त निवेदनमध्ये आधालाई पनि सेवा दिन नसकिने अवस्था रहेको पोखरेलको भनाइ छ।
जीआईडीसीबाट मन्त्रालय तथा विभागका लागि डाटा स्टोरेज, कम्प्युटर स्रोतको साझेदारी, इमेल र वेबसाइट होस्टिङ लगायत सुविधा उपलब्ध हुँदै आइरहेको छ। साथै जीआईडीसीले परामर्श सेवा, डोमेन रजिस्ट्रेसन र होस्टिङ, इमेल सर्भर, इगर्भनेन्स, मानव संशाधन प्रशिक्षण, कोलोकेसन सुविधा, भर्चुलाइजेसन र क्लाउड, वेब होस्टिङ र सफ्टवेयर डेभलपमेन्ट लगायत सेवा उपलब्ध गराउँछ।
राष्ट्रिय डाटा सेन्टरमा हालसम्म एक हजार ६७३ वेबसाइट, १९ हजार १६७ इमेल होस्ट गरिनुका साथै ३ हजार ५७ सरकारी निकाय दर्ता छन्।
राष्ट्रिय डाटा सेन्टरको कुल र्याक क्षमता १०० रहेको छ। तर त्यसमा पनि आधा कोठा मोड्युलर र्याकले भरिएका छन्।
कुल क्षमता मध्ये करिब ७० र्याक मात्र प्रयोगमा आएको उनी बताउँछन्। केन्द्रीय डाटा सेन्टर २ टेराबाइट र्याम, ६९ टेराबाइट स्टोरेज र ७ सय कोर सीपीयू क्षमता सञ्चालन भइरहेको छ।
पछिल्लो समय काठमाडौंको डाटा सेन्टरले मात्र माग धान्न सकिरहेको छैन। त्यसैले मकवानपुरको हेटौँडामा स्थित केन्द्रीय डाटा सेन्टरको ब्याकअपको रुपमा रहेको डाटा रिकभरी (डीआर) सेन्टरबाट पनि केही सर्भर होस्ट गरिएको छ। प्राकृतिक प्रकोप र मानवीय त्रुटिबाट केन्द्रमा रहेको जीआईडीसीको डाटा नष्ट नहोस् भन्ने उद्देश्यले हेटौंडमा डीआर सेन्टर सञ्चालनमा ल्याइएको हो। डीआरको क्षमतालाई पनि वृद्धि गर्न सकिए थप केही निकायको सर्भर त्यहाँबाट पनि होस्ट गर्न सकिने पोखरेल बताउँछन्।
यस्तै केन्द्रीय डाटा सेन्टरको चाप कम गर्नका लागि एनआईटीसीले बाँकेको कोहलपुरमा नयाँ डाटा सेन्टर पनि स्थापना गर्ने तयारी अघि बढाएको छ। एनआईटीसीकाअनुसार हाल सो डाटा सेन्टरको लागि कोहलपुर नगरपालिका वडा नम्बर ११ मा रहेको करिब ८५०० वर्गफिट जग्गा लिईसकेको छ।
साथै बुटवलमा पनि नयाँ डाटा सेन्टर स्थापना गर्नका लागि एनआईटीसीले जग्गा खोजी गरिरहेको छ।
सन् २००८ मा कोरियाली अनुदान सहयोगसहितको लगानीमा सिंहदरबारमा पहिलो सरकारी डाटा सेन्टरको स्थापना गरिएको थियो। कोरियाली सहयोगमै निर्मित हेटौँडाको डाटा रिकभरी सेन्टर सन् २०१९ सञ्चालनमा आएको हो।
प्रकाशित: १६ चैत्र २०७९, बिहीबार