
काठमाडौं ।
चालु आर्थिक वर्ष (आव) २०७९/८० को पहिलो ८ महिनामा नेपालमा ६ अर्ब १६ करोड ८२ लाख ७१ हजार रुपैयाँ बराबरको इलेक्ट्रिक कार भित्रिएको छ। भन्सार विभागको तथ्यांक अनुसार उक्त रकम बराबरको २ हजार १९८ यूनिट इलेक्ट्रिक कार नेपाल भित्रिएको हो।
इलेक्ट्रिक कारको आयातबाट सरकारले १ अर्ब ७३ करोड ८९ लाख ६३ हजार रुपैयाँ राजश्व प्राप्त गरेको छ।
गत माघमा ५ अर्ब ६२ करोड ९९ लाख ८३ हजार रुपैयाँ बराबरको २ हजार ९ यूनिट इलेक्ट्रिक कार आयात भएको थियो।
फागुनमा ५३ करोड ८२ लाख ८८ हजार रुपैयाँ बराबरको १८९ यूनिट इलेक्ट्रिक कार नेपाल भित्रिएको छ।
भन्सार विभागको तथ्यांक अनुसार नेपालमा ५ मुलुक अमेरिकी, चीन, भारत, दक्षिण कोरिया र इन्डोनेसियाबाट इलेक्ट्रिक कार आयात हुने गरेको छ।
सबैभन्दा धेरै इलेक्ट्रिक कार भारतबाट आउने गरेको देखिन्छ। भारतबाट ४ अर्ब २५ करोड ५८ लाख ७६ हजार रुपैयाँ बराबरको १ हजार ५७१ यूनिट इलेक्ट्रिक कार आयात भएको छ।
चीनबाट ९० करोड ७५ लाख ७२ हजार रुपैयाँ बराबरको ३६८ यूनिट इलेक्ट्रिक कार आयात भएको छ।
इन्डोनेसियाबाट ६४ लाख ६ हजार रुपयाँ बराबरको ३ यूनिट इलेक्ट्रिक कार आएको छ।
कोरियाबाट ९७ करोड ५६ लाख ३९ हजार रुपैयाँ बराबरको २५२ यूनिट इलेक्ट्रिक कार आएको छ।
अमेरिकाबाट २ करोड २७ लाख ७८ हजार रुपैयाँ बराबरको ४ यूनिट इलेक्ट्रिक कार नेपाल आएको भन्सार विभागको तथ्यांकमा देखिन्छ।
प्रकाशित: १० चैत्र २०७९, शुक्रबार