ओप्पोका भारतीय कार्यकारी भारु. १९ करोड कर छलीको आरोपमा पक्राउ

  • Technology Khabar | १० चैत्र २०७९, शुक्रबार
ओप्पोका भारतीय कार्यकारी भारु. १९ करोड कर छलीको आरोपमा पक्राउ

काठमाडौं ।

चिनियाँ स्मार्टफोन कम्पनी ओप्पोको भारतमा रहेको एकाइका एक वरिष्ठ कार्यकारीलाई केन्द्रीय वस्तु तथा सेवा कर (सीजीएसटी) आयुक्तालयको मुम्बई क्षेत्रले १९ करोड भारतीय रुपैयाँको इनपुट ट्याक्स क्रेडिट (आईटीसी) ठगीको आरोपमा पक्राउ गरेको छ। यो ठगी नक्कली इनभ्वाइस मार्फत गरिएको थियो।

कम्पनीका वित्त तथा लेखा प्रबन्धक महेन्द्रकुमार रावतलाई बुधबार महाराष्ट्रको भिवंडी सहरबाट पक्राउ गरी स्थानीय अदालतमा पेश गरिएको भारतीय मिडियाहरुले जनाएका छन्। अदालतले उनलाई अप्रिल ३ तारिखसम्म न्यायिक हिरासतमा पठाएको छ।

अनुसन्धानका क्रममा भेटिएका प्रमाणका आधारमा उनलाई सीजीएसटी ऐनको धारा ६९ अन्तर्गत पक्राउ गरिएको हो। सीजीएसटी भिवंडी आयुक्तालयले जारी गरेको विज्ञप्तिमा भनिएअनुसार महाराष्ट्रमा ओप्पोको कार्यालयले कुनै पनि सामानको रसिद बिना नै बोगस आईटीसी लिइरहेको थियो। यसमा थपिएको छ, “कम्पनीको सप्लायर मेसर्स गेन हिरो आफ्नो व्यवसायिक ठेगानामा उपस्थित थिएनन्। अनुसन्धानले १६ ओटा नक्कली ई-वे बिल फेला पारेको छ। यातायात व्यवसायी र सवारी धनीको बयानले कम्पनीलाई सामान आपूर्ति नगरेको खुलासा भएको छ।”

भारतमा ओप्पोको इकाईको तर्फबाट हस्ताक्षर गर्न अधिकृत भएका फाइनान्स एण्ड लेखा प्रबन्धक रावतले सामानको रसिद बिना गेन हिरोको तर्फबाट जारी गरेको भारु. १०७,०८,५६,०७२ को बीजकको साटो उनले १९,२७,५४,०९३ भारुको  नक्कली आईटीसी लिन मुख्य भुमिका निभाएा थिए। विज्ञप्तिमा थपिएको छ कि अभियुक्तले कम्पनीको लागि उत्पन्न भएको ई-वे बिलहरू नक्कली भएको स्वीकार गरेको छ।

समाचारअनुसार यो केस सीजीएसटीको मुम्बई जोनद्वारा कर छली र चोरी विरुद्ध विशेष अभियानको एक हिस्सा हो। सीजीएसटी भिवंडी आयुक्तालयले गत १८ महिनामा यस्ता घटनाहरूमा २४ जनालाई पक्राउ गरेको छ।

यसअघि पनि चिनियाँ इलेक्ट्रोनिक्स कम्पनीमाथि कर छलीको आरोप लागेको थियो । चिनियाँ स्मार्टफोन कम्पनीहरू विरुद्ध भारतीय नियामक कडाई पछिल्ला केही वर्षहरूमा बढेको छ।

प्रकाशित: १० चैत्र २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार