परीक्षणमै साझाका ३७ ओटा विद्युतीय बस

Technology Khabar १० चैत्र २०७९, शुक्रबार

काठमाडौं ।

साझा यातायातले चीनबाट ल्याएका ३७ ओटा विद्युत् बस सञ्चालनमा आउन सकेका छैनन्। साझा यातायातले खरिद गरेका उक्त बसहरूको यान्त्रिक परीक्षण गर्ने क्रम जारी रहेकाले परीक्षण सकिएपछि मात्र सञ्चालनमा आउने साझा यातायातका महानिर्देशक महेन्द्रराज पाण्डेयले जानकारी दिए।

उनका अनुसार खरिद गरिएका ४० ओटामध्ये तीन ओटा अहिले गुडिरहेका छन्। बाँकी ३७ ओटा भने परीक्षणकै क्रममा छन् । उनले भने, “हामीले खरिद गरेको विद्युतीय बसहरू ४० ओटा हो। अहिले तीन ओटाको यान्त्रिक परीक्षण गरेर गुडिरहेका छन्। बाँकीको यान्त्रिक परीक्षण जारी  छ।”

चीनबाट ल्याइएका विद्युतीय बसहरू सरकारको प्राविधिक टोलीले नै चेक गर्ने गरेको छ। जसमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र  यातायात व्यवस्था कार्यालय एकान्तकुनाको प्राविधिक टोलीले चेकजाँच गर्दै आएको छ।

तर प्राविधिक चेकजाँचको रिपोर्ट सकारात्मक आए पनि विद्युतीय बस सञ्चालन गर्न भने साझालाई चुनौती छ। साझा यातायातले प्रतिबस डेढ करोड पर्ने गरी खरिद ४० ओटा बस खरिद गरेको थियो । पाण्डेयका अनुसार विद्युतीय बसका लागि चार्जिङ् स्टेसन पर्याप्त नभएका कारण बसहरू सञ्चालन गर्न नै समस्या हुने देखिएको छ। चार्जिङ स्टेसनका लागि जग्गा खोज्ने कार्य जारी छ। अहिलेसम्म नभेटिएकाले जग्गा प्राप्तिको लागि कठिनाइ भएको उनको भनाइ छ।

उनले भने, “चार्जिङ् स्टेसन निर्माणका लागि जग्गाको अभाव छ। जग्गा खोज्ने क्रम जारी छ। सरकारलाई जग्गा व्यवस्थापनका लागि आग्रह गरेका छौँ।” निजीलाई बनाइएका अन्य चार्जिङ् स्टेसनबाट साझाका बसहरू चार्जिङ् नहुने भएकाले पनि साझालाई थप समस्या भएको छ।

महानिर्देशक पाण्डेयले भने,“निजी कम्पनीले राखेका चार्जिङ स्टेसनमा अहिले ल्याइएका साझाका विद्युतीय बसहरू चार्जिङ हुँदैनन् । यस कारण पनि छुट्टै चार्जिङ् स्टेसनको आवश्यकता परेको छ।” उनकाअनुसार चीनबाट ल्याइएको यी बसहरूको पाँच वर्षसम्म मर्मत पनि  निर्माता कम्पनीले नै गर्ने सम्झौता भएको छ। नेपालमा ल्याइएका बसहरू परीक्षणपश्चात् दर्ता गरी रूप प्राप्त भएपछि मात्र सञ्चालनमा ल्याउने तयारी रहेको उनको भनाइ छ।

तीन बसका लागि दुई चार्जिङ् स्टेसन

हाल साझा यातायातका सञ्चालनमा रहेका तीन विद्युतीय बसका लागि दुई ओटा मात्र चार्जिङ् स्टेसन छन्। नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिदिएको साझाको पुलचोक र बल्खु क्षेत्रमा रहेको चार्जिङ् स्टेसनबाट बसहरू चार्जिङ् गरिएको पाण्डेयको भनाइ छ।

दुई ओटा बसका लागि एउटा चार्जिङ स्टेसन हुनुपर्ने उनको भनाइ छ। उनले भने, ‘दुई ओटा विद्युतीय साझा बसका लागि एउटा चार्जिङ् स्टेसनको आवश्यकता पर्ने हो । तर अहिले तीन ओटाका लागि दुई ओटा छन्। पछि विद्युतीय बसहरू बढेपछि कहाँ चार्ज गर्ने भन्ने समस्या हुन्छ।’

विद्युत् प्राधिकरण भन्छ- विद्युत् उपलब्ध गराउँछौँ 

नेपाल विद्युत् प्राधिकरणले चार्जिङ् स्टेसन निर्माणका लागि आवश्यक मात्रामा विद्युत् उपलब्ध गराउने जनाएको छ। अहिले काठमाडौँ उपत्यकामा निजी कम्पनीले स्थापना गरेका स्टेसनहरूमा आवश्यक मात्रामा ट्रान्सफर्मरको व्यवस्था गरिदिएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईकाअनुसार उपत्यकाभर विभिन्न ठाउँमा ५२ ओटा चार्जिङ् स्टेसनमा विद्युतीय लाइन उपलब्ध गराइएको बताए। उनले भने, “नेपाल विद्युत् प्राधिकरणले देशभर नै चार्जिङ् स्टेसनका लागि आवश्यक पर्ने विद्युत् उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। सोही अनुरूप काठमाडौँ उपत्यकामा ५१ ओटा स्थानमा विद्युतीय पहुँच पुर्‍याएका छौँ।”

साझा यातायातले पनि ठाउँ छनौट गरेर विद्युतीय लाइनका लागि आग्रह गरे  उपलब्ध गराइने उनको भनाइ छ। गोरखापत्रबाट

प्रकाशित: १० चैत्र २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया