वर्ल्डलिंकमा ब्रिटिस इन्टरनेशनल इन्भेष्टमेन्ट र डोल्मा इम्प्याक्ट फण्डको दुई अर्बको लगानी 

  • Technology Khabar | ६ चैत्र २०७९, सोमबार
वर्ल्डलिंकमा ब्रिटिस इन्टरनेशनल इन्भेष्टमेन्ट र डोल्मा इम्प्याक्ट फण्डको दुई अर्बको लगानी 

काठमाडौं ।

नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले ब्रिटिस इन्टरनेशनल इन्भेष्टमेन्ट (बीआईआई) र डोल्मा इम्प्याक्ट फण्ड (डीआईएफ आईआई) को १ अर्ब ९८ करोड रुपैयाँ संयुक्त लगानी प्राप्त गरेको छ।

ब्रिटिस इन्टरनेशनल इन्भेष्टमेन्ट (बीआईआई) बेलायत सरकारको विकास वित्त संस्था र प्रभावकारी लगानीकर्ताबाट ८.४ मिलियन डलर अर्थात १ अर्ब ८ करोड नेपाली रुपैयाँ तथा डोल्मा इम्प्याक्ट फण्डबाट ६.९ मिलियन डलर अर्थात ९० करोड नेपाली रुपैयाँ बराबरको लगानी वर्ल्डलिंकले प्राप्त गरेको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो। यो लगानी नेपालको इन्टरनेट क्षेत्रको सबैभन्दा ठूलो लगानी हो।

सन् २०१९ को अक्टोबरमा १२ मिलियन डलर अर्थात १ अर्ब ३५ करोड नेपाली रुपैयाँ बराबरको बिट्रिस लगानी कम्पनीले पाईसकेको छ।

यसअघिको लगानी र हालको लगानी गरी कम्पनीमा २७।२मिलियन डलर अर्थात ३ अर्ब ३३ करोड रुपैयाँ बराबरको लगानी भएको वर्ल्डलिंकले जानकारी दिएको छ।

वर्ल्डलिंक ७ लाख ५० हजार भन्दा बढी ग्राहकहरु भएको सबैभन्दा ठूलो निजी क्षेत्रको इन्टरनेट सेवा प्रदायक कम्पनी हो जसले ग्रामीण क्षेत्रलाई केन्द्रित गरी देशभर इन्टरनेट विस्तारका गतिविधिहरुलाई गति दिने कार्य गरिरहेको छ।

वर्ल्डलिक देशको सबैभन्दा ठूलो रोजगार प्रदायक कम्पनी पनि हो । हाल यस कम्पनीमा ५ हजार ५ सय कर्मचारीले रोजगारी पाएका छन्। ब्रिटिस इन्टरनेशनल इन्भेष्टमेन्ट र डोल्मा इम्प्याक्ट फण्डको लगानीले थप एक हजार रोजगारी सिर्जना गर्न र कर्मचारीहरुको सीप अभिवृद्धिका लागि तालिम प्रदान गर्न मद्दत गर्ने पत्रकार सम्मेलनमा जानकारी दिईयो।

ब्रिटिस इन्टरनेशनल इन्भेष्टमेन्ट र डोल्मा इम्प्याक्ट फण्डले पनि लगानीले सीप विकास र तालिम कार्यक्रमहरु विस्तार गर्न तथा स्वास्थ्य र सुरक्षा मापदण्डको गुणस्तर अभिवृद्धिमा प्रगति हुने अपेक्षा गरेको छ।

कर्णाली उच्च पहाडी र कम विकसित क्षेत्रमध्येको एक तथा कठिन भौगोलिक भूभाग भएपनि वर्ल्डलिंकको फाइबर टु दि होम (एफटीटीएच) मार्फत सेवा दिन सफल भएको छ। साथै कम्पनीको इन्टरनेट सेवा छत्रकोट गाउँपालिका र रुरु गाउँपालिका जस्ता देशका विभिन्न ग्रामीण भागमा पुगेको छ। धेरै हजार किलोमिटर फाइबर बिछ्याएर यो हासिल गरिएको छ। कम्पनीसँग हाल २० लाखभन्दा बढी होमपास (पोर्ट) को क्षमता रहेको बताईएको छ।

ब्रिटिस इन्टरनेशनल इन्भेष्टमेन्ट र डोल्मा इम्प्याक्ट फण्डद्वारा प्रदान गरिएको पुँजीले इन्टरनेट विस्तारको गतिविधिहरुलाई गति दिने वर्ल्डलिंकले जनाएको छ।

प्रकाशित: ६ चैत्र २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...