
काठमाडौं ।
एशिया प्यासिफिक एडभान्स नेटवर्कको ५५ औं अन्तराष्ट्रिय सम्मेलन पहिलो पटक नेपालमा आयोजना हुने भएको छ। लामो समयको प्रयासपछि एपिएएनको ५५ औं सम्मेलन फागुन २९ गतेदेखि चैत्र ३ गतेसम्म काठमाडौं मेरियट होटेलमा आयोजना हुने आयोजकले जानकारी दिएको छ।
पाँच दिनसम्म सञ्चालन सम्मेलनमा ५५ वटा भन्दा बढी सेसनहरु सञ्चालन हुनेछन् भने १७५ भन्दा बढी प्रतिनिधिले शिक्षा, सूचना प्रविधि, वैज्ञानिक अनुसन्धान लगायतका विभिन्न क्षेत्रहरुमा केन्द्रित रहि प्रस्तुती दिने बताईएको छ।
नेपालमा पहिलोपटक हुन लागेको यस एपिएएन सम्मेलनले नेपाल सरकारले प्राथमिकताका साथ अगाडि वढाएको डिजिटल नेपाल फ्रेमवर्कको कार्यान्वयनमा सहयोग पुर्याउने आयोजक समितिका अध्यक्ष लोचनलाल अमात्यले बताए।
नेपाल रिसर्च एण्ड एजुकेसन नेटवर्कले नेपालका सूचना प्रविधि सम्बन्धी संस्थाहरुसँगको सहयोग र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँगको सहकार्यमा पाँच दिने सम्मेलन नेपालमा गर्न लागेको हो।
सूचना प्रविधि कार्यान्वयनका विभिन्न क्षेत्रहरु जस्तै प्रकोप व्यवस्थापन, कृषि आधुनिकीकरण, मानव स्वास्थ्य र चिकित्सकीय प्रविधि, वैज्ञानिक तथ्यांकहरुमा पहुँच, इन्टरनेट सुरक्षा आदि विषयवस्तुहरुमा केन्द्रित रहि सहभागीहरुबीच छलफल हुनेछ।
यसका साथै नेपालको तर्फबाट जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारेको प्रभाव र यसको न्युनीकरणको लागि सूचना प्रविधि र वैज्ञानिक अनुसन्धानको भूमिका सम्बन्धमा जलवायु परिवर्तन विज्ञ तथा नेपाली पर्वतारोही समेतको प्रस्तुति रहने कार्यक्रम तय भएको छ।
२५ देशका १८० प्रतिनिधिहरु तथा नेपालका विभिन्न विश्वविद्यालय र सूचना प्रविधि सँग सम्वन्धित संस्थाहरुबाट १५० गरी ३३० भन्दा बढि प्रतिनिधिहरु सम्मेलन स्थल काठमाडौं मेरियटमा सहभागी हुने आयोजकले जानकारी दिएको छ।
यस्तै यस सम्मेलनले देशमा वैज्ञानिक अनुसन्धान र यस सम्बन्धी पुर्वाधारहरुको आवश्यकताका साथै राष्ट्रिय अनुसन्धान तथा शैक्षिक सञ्जालको विस्तारको लागि सचेतना बढाउने अपेक्षा गरिएको छ।
यो सँगै नेपाल सरकारले सुचना प्रविधि र वैज्ञानिक अनुसन्धानका क्षेत्रमा गरिरहेका प्रयासहरु विश्वमाझ पुर्याउने अवसर समेत यस सम्मेलनले जुटाउने आयोजकको अपेक्षा छ।
एपिएएनले विगत २५ वर्षदेखि एशिया प्रशान्त क्षेत्रका राष्ट्रिय अनुसन्धान तथा शैक्षिक सञ्जाल संस्थाहरुको संयोजन तथा विश्वका विभिन्न देशका वैज्ञानीक अनुसन्धान, नवप्रवर्तन र विभिन्न विश्वविद्यालयहरु सँगको सहकार्यमा हरेक वर्ष दुईवटा अन्तर्राष्ट्रिय सम्मेलन एशिया प्रशान्त क्षेत्रका विभिन्न राष्ट्रहरुमा आयोजना गर्दै आएको छ ।
प्रकाशित: २९ फाल्गुन २०७९, सोमबार