Technology Khabar ५ भाद्र २०७४, सोमबार
काठमाडौं ।
काठमाडौं,५ भदौ। अब बिजुलीको बिल तिर्न नेपाल विद्युत प्राधिकरणको कार्यालयमा नै धाउनु पर्ने समस्याबाट मुक्ति हुने भएको छ ।
विद्युत् प्राधिकरणको महशुल तिर्न लामो लाइनमा बस्नु पर्ने वा न्यूनतम महशुल तिर्नसमेत महशुलको भन्दा बढी रकम खर्च गरेर विद्युत प्राधिकरणको कार्यालय जानुपर्ने बाध्यता हटेको छ । किनकी अब अनलाइन बाटै विद्युतको महशुल तिर्न सकिने भएको छ ।
नेपाल विद्युत् प्राधिकरणले सोमबारदेखि विभिन्न बैंक तथा वित्तीय संस्थामार्फत अनलाइन प्रणालीबाटै महशुल तिर्न सक्ने व्यवस्था शुरु गरेको छ ।
ऊर्जा मन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले अनलाइन बिल भुक्तानी प्रणाली शुरु गरे । ऊर्जामन्त्री शाहीले आगामी डेढ महिनाभित्रै नेपाल टेलिकमको रिचार्ज कार्डबाट समेत महशुल तिर्न सक्ने प्रणालीको विकास गरिने जानकारी दिए ।
ग्राहकले मोबाइल बैंकिङ सेवामार्फत मोबाइलबाट पनि सजिलै घरमै बसेर महशुल तिर्न सक्नेछन् भने ग्राहकले प्रभु बैंक तथा इ सेवाका मोबाइल एपमार्फत पनि भुक्तानी गर्न सक्नेछन् ।
ग्राहकले आफ्नो महशुल तिर्न नजिकैको इ सेवाको सेवा केन्द्र, प्रभु बैंक, महालक्ष्मी विकास बैंक, हिमाल रेमिट, सिटी एक्सप्रेस, पे प्वाइन्ट नेपाललगायतका संस्थाबाट निशुल्क महशुल तिर्न सक्ने व्यवस्था प्राधिकरणले गरेको छ। नेपाल विद्युत् प्राधिकरण र ती संस्थाका बीच महशुल भुक्तानीसम्बन्धी सहमतिपत्रमा समेत हस्ताक्षर भइसकेको छ ।
निकट भविश्यमा नै हिमालयन बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र नेपाल क्लिरिङ हाउसबाट समेत महशुल तिर्न सक्ने व्यवस्था गरिने जानकारी दिईयो ।
प्राधिकरणले सम्झौता गरेका संस्थाहरुको मुलुकभर करिब १५ हजार आउटलेट सञ्चालनमा रहेका बताईएको छ । सो प्रणालीको प्राधिकरणले यसअघि नै परीक्षण गरिसकेको छ ।
ग्रामीण क्षेत्रमा न्यूनतम उठ्ने ८० रुपैयाँ महशुल तिर्न ४सय रुपैयाँसम्म खर्च गर्नुपरेको समाचारहरु बाहिर आईरहेको बेला प्राधिकरणले ल्याएको अनलाइन बिल भुक्तानी सेवाले ग्राहकहरुलाई सहज हुने अनुमान छ ।
ग्राहकले नजिकैको बैंक तथा वित्तीय संस्था वा इ–सेवाको सेवा उपलब्ध गराएका स्थानमा गएर महशुल तिर्न सक्नेछन् । प्राधिकरणका कर्मचारीले मिटर रिडिङ गर्दा दिएको बिलअनुसार आफ्नो नजिक रहेका ती संस्थाको शाखामा गएर महशुल तिर्न सक्ने व्यवस्था गरिएको छ । ती संस्थाले ग्राहकसँग कुनै पनि अतिरिक्त शुल्क लिन पाउने छैनन् ।
कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ग्राहकलाई बढीभन्दा बढी सहज सेवा दिने लक्ष्यका साथ अनलाइन भुक्तानी प्रणाली शुरुवात गरिएको जानकारी दिए । उनले प्राधिकरणको काम कारबाहीलाई बढीभन्दा बढी सरल तथा सहज बनाउन नयाँ प्रविधिको विकास गरिएको जानकारी दिए ।
तोकेको संस्था वा निकायमार्फत महशुल बुझाएपछि ग्राहकलाई बिल भुक्तानी भयो भन्ने सूचना प्राधिकरणले दिनेछ । नेपालको सन्दर्भमा यस्तो प्रणाली सञ्चालनमा ल्याउने सरकारी निकायमध्ये नेपाल टेलिकमपछि प्राधिकरण नै भएको सो अवसरमा जानकारी दिइयो ।
अनलाइन भुक्तानीका लागि सम्झौता भएका संस्थाले ५० लाख धरौटीसमेत प्राधिकरणको खातामा राखेका छन् । ग्राहकले महशुल तिरेको भन्ने सूचना सम्बन्धित बैंक तथा वित्तीय संस्था वा इसेवाका काउन्टर र प्राधिकरणको भुक्तानी इकाइमा समेत तथ्यांक रहनेछ ।
प्रकाशित: ५ भाद्र २०७४, सोमबार