
काठमाडौं ।
एप्पलले आईफोन, आईप्याड र म्याकबुक लगायत धेरै मोबाइल डिभाइसहरूको ब्याट्री प्रतिस्थापनको लागि मूल्य बढाउने योजना बनाएको घोषणा गरेको थियो। एप्पलको सो परिवर्तन अन्ततः रोल आउट भएको देखिने गीज्मोचाइनाले उल्लेख गरेको छ।
कुपर्टिनो बेस्ड जायन्टले ब्याट्री प्रतिस्थापन लागत वृद्धिको बारेमा गत फेब्रुअरीमा पहिलो पटक घोषणा गरेको थियो। यस परिवर्तनले गर्दा एप्पलको लोकप्रिय स्मार्टफोन, ट्याब्लेट र नोटबुक लाइनअपलाई असर गर्न सक्ने बताइएको छ। अब भने ब्रान्डले स्पष्टरूपमा विश्वभर नयाँ मूल्य अपडेट रोल आउट गर्ने भएको छ। यदि यो समाचार साँचो भएको खण्डमा गत वर्षको सेप्टेम्बरदेखि आईफोन निर्माताले ब्याट्री प्रतिस्थापनको मूल्य वृद्धि गरेको यो दोस्रो पटक हुनेछ।
ब्याट्री प्रतिस्थापनको मूल्य निर्धारणमा धेरै तहहरू रहेको र यस महिनादेखि लाइभ हुने नयाँ रिपोर्टमा उल्लेख गरिएको छ। साथै यो परिवर्तन अमेरिकी बजारको लागि मात्र नभई विश्व बजारलाई पनि समेट्ने उल्लेख गरिएको छ। अहिलेको लागि आईफोन १४ सिरिजको ब्याट्री प्रतिस्थापनलाई लगभग ९९ अमेरिकी डलर लाग्ने बताइएको छ। त्यसैगरी आईफोन ५ देखि आईफोन ८ को ब्याट्री परिवर्तन लागत ४९ अमेरिकी डलरबाट बढाएर करिब ६९ अमेरिकी डलर हुने उल्लेख गरिएको छ।
त्यसैगरी, आईफोन एक्सदेखि आईफोन १३ सिरिजको ब्याट्री रिप्लेसमेन्टको मूल्यवृद्धि गरि ६९ अमेरिकी डलरबाट ८९ अमेरिकी डलरसम्म पुर्याइने छ।
म्याकबुकको ब्याट्री प्रतिस्थापन एयर मोडेलको लागि ३० अमेरिकी डलर मूल्य वृद्धि गरि १२९ अमेरिकी डलरबाट १५९ अमेरिकी डलर पुर्याइने बताइएको छ। साथै म्याकबुकको प्रो र बेस मोडलहरुमा ५० अमेरिकी डलर मूल्य बढाएर १९९ अमेरिकी डलरबाट २४९ अमेरिकी डलर पुर्याइने उल्लेख छ।
साथै आईप्याडहरूमा पनि प्रतिस्थापन लागतहरू वृद्धि हुने उल्लेख गरिए तापनि यसले प्रत्येक मोडेललाई असर नगर्ने बताइएको छ। त्यसैगरी पुरानो प्रो, मिनी र एयर भेरियन्टहरूमा मूल्य वृद्धिको दायरा २० अमेरिकी डलर देखि शुरु हुन सक्ने र बेस आईप्याडमा भने ९९ अमेरिकी डलरबाट १९९ अमेरिकी डलरमा पुर्याइने उल्लेख गरिएको छ।
प्रकाशित: २० फाल्गुन २०७९, शनिबार