
काठमाडौं ।
सुनसरी जिल्लामा कुनै पनि ड्रोन उडाउन सरकारी अनुमति लिनुपर्ने भएको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीले आइतबार एक विज्ञप्ति जारी गर्दै अनुमति नलिई ड्रोन उडाउने व्यक्ति माथि कारबाही गर्ने चेतावनी दिएको छ।
अत्यावश्यक कामका लागि दुई केजीभन्दा कम तौलका ड्रोन उडाउनका लागि प्रयोगकर्ताले जिल्ला प्रशासन कार्यालय सुनसरीबाट अनुमति लिनुपर्ने हुन्छ।
त्यस्तै दुई केजीभन्दा माथि तौल भएका ड्रोन उडाउन प्रयोगकर्ताले गृह मन्त्रालयबाट अनुमति लिनुपर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ। मानवरहित हवाई उपकरण उडान कार्यविधि २०७५ मा ड्रोन उडाउन विभिन्न निकायबाट अनुमति लिनुपर्ने व्यवस्था रहेको छ।
पछिल्लो समय विभिन्न व्यक्ति तथा निकायले अनुमति नलिई अनधिकृत रूपमा ड्रोन उडाएको जानकारी आएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले विज्ञप्ति जारी गर्दै त्यसो नगर्न सचेत गराएको छ। अनुमति बिना ड्रोन उडाएको भेटिएमा कानून बमोजिम कारबाही गर्ने समेत चेतावनी दिएको छ।
प्रकाशित: १७ फाल्गुन २०७९, बुधबार