
काठमाडौं ।
स्मार्टफोनहरु हाम्रो जीवनको अत्यावश्यक हिस्सा बनिसकेका छन् भने तिनीहरू पनि निरन्तर विकसित भइरहेका छन्। अबको अर्को पाँच वर्षमा उक्त डिभाइसरू प्रयोग गर्ने र अन्तर्क्रिरया गर्ने तरिकालाई परिवर्तन गर्ने केही प्रमुख (सफलता) ब्रेकथ्रूहरूको अपेक्षा गर्न सकिने छ।
तसर्थ यहाँ शीर्ष तीन प्रविधिहरू उललेख गरिएका छन् जसले निकट भविष्यमा स्मार्टफोनमा क्रान्तिकारी परिवर्तन गर्नेछः
१. स्याटेलाइट कनेक्टिभिटीः
स्याटेलाइट कनेक्टिभिटी मार्फत सेलुलर नेटवर्क बिना नै पृथ्वीमा जहाँ पनि सन्देशहरू पठाउन र प्राप्त गर्न सकिने छ। सामसङ, एप्पल र ह्वावे जस्ता केही स्मार्टफोन निर्माताहरूले आपतकालीन उद्देश्यका लागि भनेर स्याटेलाइटहरूसँग जडान गर्न सकिने डिभाइसहरू प्रस्तुत गरिसकेका छन्। साथै केही निर्माताहरुले भने एक कदम अगाडि बढ्दै दुईतर्फी एसएमएस सन्देशहरू आदान–प्रदान गर्नको लागि काम गरि रहेका छन्। यसको मतलब स्याटेलाइट कनेक्टिभिटीले हामीलाई आफ्नो प्रियजनहरूसँग सम्पर्कमा रहन मद्दत गर्नुका साथै महत्त्वपूर्ण जानकारीहरुको पहुँच प्रदान गर्दै जहाँसुकै भएको अवस्थामा पनि बढी आवश्यक पर्दा मद्दत प्राप्त गर्न सहयोग पुर्याउने छ।
२. सोलिड स्टेट ब्याट्रीजः
स्मार्टफोन प्रयोगकर्ताहरूका लागि सबैभन्दा ठूलो चुनौती भनेको ब्याट्रीको जीवन वा ब्याट्री लाईफ रहेको छ। कसैलाई पनि आफ्नो फोनको ब्याट्री सकिएको र आफ्नो फोन बारम्बार चार्ज गरीरहन मन पर्दैन। यसै कारणले गर्दा अबका दिनहरुमा सोलिड (ठोस) स्टेट ब्याट्रीहरू धेरै रोमाञ्चक हुने भएको छ। तरल इलेक्ट्रोलाइट सलुसन प्रयोग गर्ने परम्परागत लिथियम–आयन ब्याट्रीहरूको विपरीत सोलिड स्टेट ब्याट्रीहरूले (सोलिड) ठोस इलेक्ट्रोलाइट प्रयोग गर्दछ। यसको अर्थ सोलिड स्टेट ब्याट्रीहरूले कम ठाउँमा बढी ऊर्जा प्याक गर्नसक्ने र त्यसले गर्दा ब्याट्रीको आयु लामो हुनुका साथै छोटो समयमा छिटो चार्ज हुने बताइएको छ। साथै सोलिड स्टेट ब्याट्रीहरू लिथियम–आयन ब्याट्रीहरू भन्दा थप सुरक्षित र अधिक स्थिर हुनुका साथै यसले अत्यधिक तात्ने वा विस्फोट हुने जोखिमलाई पनि कम गर्दछ।
३. फ्लेक्सीबल डिस्प्लेजः
फ्लेक्सीबल डिस्प्लेले गर्दा अब स्मार्टफोनको स्क्रिनलाई नतोडिकन फोल्ड गर्न, झुकाउन (बेन्ड) वा ट्विस्ट गर्न सकिने बताइएको छ। ओएलईडी डिस्प्लेहरू लचिलो स्क्रिनहरू निर्माण गर्नको लागि प्रयोग गरिने र यसलाई विभिन्न आकार र प्रकारमा समायोजन गर्न सकिने बताइएको छ। लचिलो डिस्प्ले भएका स्मार्टफोनहरूलाई कम्प्याक्ट स्मार्टफोनबाट थप बहुमुखी र कार्यक्षमता प्रदान गर्ने ठूलो ट्याब्लेटमा रूपान्तरण गर्न सकिने उल्लेख गरिएको छ। त्यसैगरी लचिलो फोनहरू मार्फत राम्रो स्थायित्व, हल्का वजन र थप मल्टिटास्किङ विकल्पहरूको आनन्द लिन सकिनेछ।
प्रकाशित: १६ फाल्गुन २०७९, मंगलवार