
काठमाडौं ।
ललितपुर महानगरपालिकाले नगर भित्र इन्टरनेट सेवा प्रदायक संस्था तथा नेपाल टेलिकमद्धारा राखिएका तारहरु व्यवस्थित गर्न भनेको छ।
महानगरपालिकाले अव्यवस्थित तार तथा सडकको पोल पोलमा राखिएका तारका अनावश्यक मुठाहरुले शहरलाई नै कुरुप पारेको भन्दै त्यसलाई तत्काल हटाउन भनेको छ।
ललितपुर महानगरपालिकाले अव्यवस्थित तार तथा सडकको पोल पोलमा राखिएका तारका अनावश्यक मुठाहरु हटाउनका लागि ७ दिनको समय दिएको छ।
‘महानगरपालिकालाई सुन्दर र स्मार्ट शहर बनाउने हाम्रो अभियानलाई चुनौती दिदै महानगरपालिका क्षेत्रभित्र कार्यरत इन्टरनेट सेवा प्रदायक संस्था तथा नेपाल टेलिकमद्धारा सडक किनारामा राखिएका अव्यवस्थित तार तथा सडकको पोल पोलमा राखिएका तारका अनावश्यक मुठाहरुले शहरलाई नै कुरुप पारेको हुँदा महानगरपालिका सम्बन्धित निकायहरुलाई विशेष ध्यानाकर्षण गराउँदछौं,’ सूचनामा भनिएको छ।
महानगरपालिकाको कार्यालय अगाडि ऐतिहासिक सम्पदा क्षेत्र वरपर तथा पर्यटक मार्गहरुमा राखिएका त्यस किसिमका तार र मुठाहरु यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र सम्बन्धित निकायहरुले आफैं हटाउन भनेको छ। यदि ७ (सात) दिनभित्र सम्बन्धित निकायहरुले आफैँ नहटाएमा ललितपुर महानगरपालिका कार्यालयद्वारा नै हटाउने चेतावनी समेत दिएको छ।
नगरलाई सुन्दर र स्मार्ट सिटी बनाउन शहरको सौन्दर्यता अभिवृद्विका लागि हरियाली प्रवर्द्धन, सडक पेटीमा सुधार, स्मार्ट बत्ती जडान, ऐतिहासिक सम्पदाहरुको संरक्षण गर्दै पर्यटन गन्तव्यको शहरको रुपमा नगरलाई आकर्षण बनाउने कार्यहरु भईरहेको समेत जनाएको छ।
प्रकाशित: १४ फाल्गुन २०७९, आईतवार