
काठमाडौं ।
अटोमोबाइल कम्पनी टाटा मोटर्सले सोमबार कम्पनीले वातावरणमैत्री यातायातसँग सम्बन्धित ठूलो सम्झौता गरेको घोषणा गरेको छ। यस अन्तर्गत भारतमा एपमार्फत क्याब सेवा उपलब्ध गराउने राइड हेलिङ्ग कम्पनी उबरलाई २५ हजार एक्सप्रेस-टी (XPRES-T) इभी आपूर्ति गरिने जानकारी दिएको छ। यी इलेक्ट्रिक सेडानहरू उबरले आफ्नो प्रिमियम श्रेणीको सेवामा प्रयोग गर्नेछ।
विद्युतीय सवारी साधन एक्सप्रेस-टीको ब्याट्रीहरू २६ किलोवाट आवर र २५.५ किलोवाट आवरका छन्। यसलाई ०-८० प्रतिशतसम्म ५९ मिनेटमा र ११० मिनेटमा फास्ट चार्जिङ प्रयोग गरेर चार्ज गर्न सकिन्छ।
उबर फ्लीटमा सामेल हुने यी ईभीहरू भारतको दिल्ली एनसीआर, मुम्बई, चेन्नई, कोलकाता, हैदराबाद, अहमदाबाद र बेंगलुरुमा प्रयोग हुने भारतीय मिडियाहरुले जनाएका छन्। टाटा मोटर्सबाट कारको आपूर्ति यसै महिनाबाट सुरु हुनेछ। यद्यपि यो सम्झौताको आकारको बारेमा जानकारी दिइएको छैन।
एक्सप्रेस-टीको मूल्यहरू भारतीय बजारमा भारु १३.०४ लाख (एक्स-शोरूम, दिल्ली) बाट सुरु हुन्छ। यसको दायरा लगभग ३१५ किलोमिटर छ। यसमा २.६ लाख भारतीय रुपैयाँको फेम अनुदान उपलब्ध छ। टाटा मोटर्स प्यासेन्जर भेहिकल र टाटा प्यासेन्जर इलेक्ट्रीक मोबिलिटीका प्रबन्ध निर्देशक शैलेश चन्द्रले एक विज्ञप्तिमा भनेका छन्, “देश(भारत)मा दिगो मोबिलिटी चलाउने हाम्रो प्रतिबद्धताअनुरूप, फ्लीट खण्डमा आफ्नो स्थितिलाई अझ बलियो बनाउनका लागि उबरसँग साझेदारी गर्न पाउँदा हामी खुसी छौं।”
यसैबीच लामो समयपछि भारतीय बजारमा जनवरीमा टाटा मोटर्सको ईभी बिक्री घटेको छ। कम्पनीको ईभी बिक्री गत महिनामा करिब १७ प्रतिशतले घटेको रिपोर्टमा उल्लेख छ। यसका बाबजुद टाटा मोटर्सले ७० प्रतिशतभन्दा बढीको बजार हिस्साका साथ नम्बर एक स्थान कायम राखेको छ ।
जनवरीमा टाटा मोटर्सको बिक्री लगभग १७ प्रतिशतले घटेर २,४२६ युनिटमा पुगेको छ। कम्पनीको नेक्सन ईभी यस खण्डमा सबैभन्दा बढी बिक्री हुने विद्युतीय गाडी हो।
हालै टाटा मोटर्सले भारतीय बजारमा नेक्सन ईभीको मूल्य घटाएको छ। कम्पनीले आफ्ना प्राइम र म्याक्स भेरियन्टका सबै नौ मोडलको मूल्य भारु ८५ हजारसम्म घटाएको छ।
प्रकाशित: ९ फाल्गुन २०७९, मंगलवार