
काठमाडौं ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय स्थित अध्यागमन कार्यालयको सर्भर डाउन भएसँगै देखिएको समस्या समाधान भएको छ।
सोमबार दिउँसो सर्भरमा समस्या देखिएसँगै अन्तर्राष्ट्रिय उडान प्रभावित भएको कार्यालयका सूचना अधिकारी गणेश आचार्यले जानकारी दिए।
उनले हाल समस्या समाधान भईसकेको र सेवा सहज भएको बताए।
“हाम्रो सर्भरमा समस्या आउँदा करिब आधा घण्टा सेवा ठप्प भएको हो ।हाल सुरु भईसकेको छ। र हाम्रा प्राविधिकहरुले के समस्या भएको थियो भनेर हेर्दै हुनुहुन्छ,” उनले टेक्नोलोजीखबरसँग भने।
उनकाअनुसार अध्यागमन सेवामा धेरै तर्फको सफ्टवेयरहरु जोडिने र कनेक्सनमा रहुने हुँदा एउटा अवरोध भएपनि सबै सेवामा समस्या हुने गरेको छ।
अध्यागमनको सेवामा अवरोध हुँदा यात्रुहरुले हैरानी भोग्नुपरेको थियो।
पछिल्लो केही समययता अध्यागमनको सर्भरमा पटक-पटक समस्या देखिन थालेको छ।
यसअघि सरकारी डाटा सेन्टरमा नै समस्या आउँदा अध्यागमनको सर्भरमा समस्या हुने गरेको थियो। अघिल्लो महिना पनि समस्याका कारण उडान प्रभावित भएको थियो।
तर यस पटक सरकारी डाटा सेन्टरसँग सम्बन्धित समस्या नभएको बताईएको छ।
यस बारेमा सरकारी डाटाहरुको हेरचाह गर्ने राष्ट्रिय सूचना प्रविधि केन्द्रका सूचना अधिकारी रमेश पोखरेलले आफूहरुकोबाट समस्या नभएको बताए।
“आजको समस्या हाम्रोतर्फबाट होईन् ।अध्यागमनकै समस्या हो,” केन्द्रका सूचना अधिकारी पोखरेलले भने।
प्रकाशित: ८ फाल्गुन २०७९, सोमबार