एडिएसएलको स्पीड १ एमबीपीएस सम्म, विदेशबाट फोन आउँदा बोनस पाईने

Technology Khabar १५ श्रावण २०७४, आईतवार

एडिएसएलको स्पीड १ एमबीपीएस सम्म, विदेशबाट फोन आउँदा बोनस पाईने
फाइल

काठमाडौं ।

काठमाडौं, १५ साउन । नेपाल टेलिकमले जीएसएम/सीडीएमए तथा एडीएसएल/एफटीटीएच सेवाका ग्राहकहरुका लागि प्रमोसनल अफर गराउने भएको छ ।

त्यसैगरी विदेशबाट आएको कल उठाउदा पनि अब बोनस प्राप्त गर्न सकिने भएको छ ।

यो अफर साउन १६ गते सोमबारदेखि लागू हुनेछ र ९० दिनसम्म उपलब्ध गराइने टेलिकमले जानकारी दिएको छ । यो अफर अन्तर्गतको सेवा पुराना ग्राहकहरुलाई समेत उपलब्ध हुनेछ ।

१ एमबीपीएससम्मको डाटा स्पीड

अफर अन्तर्गत अब १ एमबीपीएससम्म गतिको एडीएसएल इन्टरनेट कर सहित मासिक १ हजार रुपैयाँमा उपलब्ध हुनेछ । यसअघि मासिक १ हजार १७ रुपैयाँमा २५६ केबीपीएस गतिको एडीएसएल उपलब्ध थियो ।

त्यसैगरी भोल्युम बेस्ड एडीएसएलको मूल्य पनि घटाइएको छ । पहिले २१ जीबी डाटाको लागि १ हजार ९८० रुपैयाँ शुल्क लिइएकोमा अब १५ जीबी डाटा ३ सय रुपैयाँ मै उपलब्ध हुनेछ । त्यसैगरी २५ जीबी डाटाको ५ सय रुपैयाँ र ४० जीबीको डाटाको मूल्य ७ सय रुपैयाँ मात्र तोकिएको छ । यी डाटाको स्पीड १ एमबीपीएस सम्म हुनेछ ।

त्यसैगरी दर्ता शुल्क पनि घटाइएको छ । पहिले दर्ता शुल्क कर वाहेक ५ सय रुपैयाँ भएकोमा अब भोल्युम बेस्ड डाटाको लागि कर वाहेक २ सय रुपैयाँ र अनलिमिटेड डाटाको लागि ३ सय रुपैयाँ मात्र दर्ता शुल्क तोकिएको छ ।

डबल भोल्युमको एफटीटीएच सेवा

यस्तै अब पहिलेकै मूल्यमा पहिले भन्दा डबल भोल्युमको एफटीटीएच सेवा प्राप्त गर्न सकिने छ । सो अनुरुप १० एमबीपीएस गतिको एफटीटीएच प्याकेज अन्तर्गत ३ महिनाका लागि २४० जीबी, ६ महिनाका लागि ५०० जीबी र १२ महिनाका लागि १२०० जीबी डाटा पहिलेकै मूल्यमा प्रयोग गर्न सकिने छ । त्यसैगरी १०० एमबीपीएस गतिको प्याकेज अन्तर्गत १२ महिनाका लागि १२०० जीबी डाटा प्रयोग गर्न सकिने छ ।

विदेशको कल आउँदा बोनस

साथै विदेशबाट आएको कल उठाउदा पनि अब बोनस प्राप्त गर्न सकिने छ । जीएसएम/सीडीएमए प्रिपेड र पोष्टपेडका ग्राहकले एक सातामा ७ मिनेट वा त्यो भन्दा बढी कल रिसिभ गर्दा नेपाल टेलिकमको नेटवर्क भित्र ७ मिनेट भ्वाइस कल गर्न र ७ वटा एसएमएस निःशुल्क पठाउन सक्ने टेलिकमले जनाएको छ ।

प्रकाशित: १५ श्रावण २०७४, आईतवार

तपाइको प्रतिक्रिया