
काठमाडौं ।
नेपाल टेलिकमको पोस्टपेड बिलिङ्गमा आज देखिएको समस्या समाधान भएको छ।
यसअघि बिहानैदेखि पोस्टपेड बिलिङ्गमा आएसँगै ग्राहकहरुले सामाजिक संजालमार्फत समस्याको बारेमा चर्को गुनासो गरेका थिएन्। उनीहरुले आफ्नो रकम काटिएको र रिचार्ज गर्दा पनि नदेखिएको भन्दै सरकारी दूरसञ्चार कम्पनीको सेवाको गुणस्तरमा प्रश्न उठाए।
टेलिकमका प्रवक्ता शोभन अधिकारीले ले बिहानै टेक्नोलोजीखबरसँगको कुराकानीमा बेलुकासम्म समस्या समाधान गरिने बताएका थिए।
सोहीअनुसार कम्पनीले एक सार्वजनिक सूचना जारी गर्दै हाल उक्त समस्या समाधान भएर सेवा सहज भईसकेको जानकारी दिएको छ।
टेलिकमले केहि समयअघि जारी गरेको सूचनाअनुसार मासिक बिल प्रशोधन गरी हिसाब मिलान गर्ने कार्य सम्पन्न हुन केही समय लागी बिहानको समयमा केही ग्राहकको फोनमा ब्यालेन्स कम हुने र वन वे हुने जस्ता समस्या आएको उल्लेख छ। कम्पनीले सो समस्या समाधान भई सम्पूर्ण सेवा नियमित रुपमा सञ्चालनमा रहेको जानकारी दिएको छ।
सरकारी अधिनमा रहेको दूरसञ्चार कम्पनीले ट्विटरमा प्रकाशित सूचनामा भनेको छ, “नेपाल टेलिकमले प्रत्येक अंग्रेजी महिनाको १५ तारिखमा पोस्टपेड सेवाको मासिक बिल प्रशोधन (बिल रन) गर्ने गरेको छ। यो कार्य सामान्यतः १५ तारिखको राती शुरु गरी सोही रातभरीमा नै सम्पन्न हुने गरेको छ । यस पटक मासिक बिल प्रशोधन गरी हिसाब मिलान गर्ने कार्य सम्पन्न हुन केही समय लागी विहानको समयमा केही ग्राहकको फोनमा ब्यालेन्स कम हुने र One way हुने जस्ता समस्या आएको हो । सो समस्या समाधान भई सम्पूर्ण सेवा नियमित रुपमा सञ्चालनमा रहेको छ।”
यसका साथै कम्पनीले सेवाग्राहीलाई अविच्छिन्न रुपमा गुणस्तरीय दूरसञ्चार सेवाहरु प्रवाह गर्न कम्पनी सदा प्रतिबद्ध रहेको समेत जनाएको छ।
समस्या समाधान भई सम्पूर्ण सेवाहरू सुचारु भइसकेको सम्बन्धि सूचना।#NepalTelecom #Notice pic.twitter.com/ad6lm177Fd
— Nepal Telecom (@ndcl_nt) February 16, 2023
बुधबार टेलिकमको नेटवर्कमै समस्या आउँदा देशभरका ग्राहकहरु पिडित भएका थिए भने बिहिबार बिहानैदेखि पोस्टपेड सेवाका ग्राहकहरुले हैरानी खेपेका थिए।
सम्बन्धित समाचार-
नेपाल टेलिकमको पोस्टपेड बिलिङ्गमा समस्या, समाधान गर्न काम गरिरहेको कम्पनीको दाबी
प्रकाशित: ४ फाल्गुन २०७९, बिहीबार