
काठमाडौं ।
इलन मस्कले ट्विटर किनेपछि उक्त कम्पनीको सीईओ आफैं बनेका थिए। तर अब भने उनले पदबाट राजीनामा दिने भएका छन्। दुबईमा भएको वर्ल्ड गभरमेन्ट समिटमा भिडियो लिङ्क मार्फत बोल्दै मस्कले सङ्गठनलाई स्थिर बनाई आर्थिक रूपमा स्वस्थ स्थानमा पुगेको सुनिश्चित भएपश्चात उनले सम्भवतः कम्पनी चलाउन अरू कसैलाई खोज्ने बताएका छन्।
मस्कले ट्विटरको सीईओ पदबाट राजीनामा दिन्छु भनेर भनेको यो पहिलो पटक भने नभएको र यसपटक भने सम्भावित समयरेखा उल्लेख गरेका कारण विषय रोचक बनेको हो। अर्बपति सक्रिय रूपमा ट्विटरको सीईओ बन्ने व्यक्तिको खोजीमा रहेका र वर्षको अन्त्यमा हुने संक्रमणको दौरान नयाँ सीईओको अपेक्षा गरिएको ब्लूमबर्गले बताएको छ।
त्यसैगरी टेस्लामा मस्कको उपस्थितिको अभावले गर्दा विद्युतीय कार कम्पनीका केही लगानीकर्ताहरूलाई चिन्तित बनाएको उल्लेख गरिएको छ। यस बारे बोल्दै मस्कले स्पेसएक्स र टेस्लालाई तीनदेखि पाँच वर्ष पहिलेको तुलनामा अहिले सञ्चालन गर्न कम कामको आवश्यक पर्ने बताएका छन्।
इलन मस्कले युएईको क्याबिनेट मामिला मन्त्रीसँगको भिडियो कुराकानीको क्रममा ट्विटरलाई “ए स्टार्टअप इन रिभर्स” भनि उल्लेख गरेका थिए। सामाजिक सञ्जाललाई अझै पनि “स्थिर स्थितिमा“ हुनको लागि धेरै कामको आवश्यकता रहेको मस्कले बताए। मस्कले हाल ६ घण्टा सुतेर हप्ताको सात दिन काम गर्ने गरेको भएपनि उनले हप्तामा केवल ८० घण्टा काम गर्न चाहेको बताइएको छ।
प्रकाशित: ४ फाल्गुन २०७९, बिहीबार