नेपाल टेलिकमको एफटीटीएच सेवा कर्णालीका ४ जिल्लामा

  • Technology Khabar | २९ माघ २०७९, आईतवार
नेपाल टेलिकमको एफटीटीएच सेवा कर्णालीका ४ जिल्लामा

काठमाडौं ।

नेपाल टेलिकमको ‘फाइबर टु द होम’ (एफटीटीएच) सेवा कर्णालीका ४ जिल्लामा पुगिसकेको छ।

एउटै केबलबाट उच्च गुणस्तरीय इन्टरनेटका साथै भ्वाइस तथा टेलिभिजन सुविधा प्रयोग गर्न सकिने ‘फाइबर टु द होम’ (एफटीटीएच) सेवा कर्णालीका सुर्खेत, दैलेख, जाजरकोट र सल्यानमा पुर्याईसकिएको टेलिकम प्रादेशिक कार्यालय सुर्खेतले जनाएको छ।

ल्याण्डलाइन नभए पनि इनटरनेट तथा टीभी सेवा सञ्चालन हुने भएकाले (एफटीटीएच) सेवा उपभोक्ताको रोजाइमा पर्न सफल भएको हो ।

एफटीटीएच प्रविधिमार्फत परम्परागत तामाको तारको सट्टामा घरसम्म अप्टिकल फाइबर पुर्याई ट्रिपल प्ले अर्थात् भ्वाइस, उच्च गतिको इन्टरनेट र भिडियो सेवा प्रदान गर्न सकिने भएकाले ग्राहकका लागि यो सेवा प्रभावकारी बन्दै गईरहेको छ।

उपभोक्ताको माग बढ्दै गईरहेकाले प्रदेशका बाँकी ६ जिल्लामा ‘एफटीटीएच सेवा’ विस्तारमा तीव्रता दिईएको टेलिकम प्रादेशिक कार्यालय प्रमुख मिलन श्रेष्ठले जानकारी दिए।

उनले छिट्टै रुकुम पश्चिम, कालिकोट र जुम्लामा ‘एफटीटीएच सेवा’ विस्तारको काम अन्तिम चरणमा पुगिसकेकाले चालु आर्थिक वर्षभित्रै सञ्चालनमा आउने बताए।

उनका अनुसार डोल्पामा ‘एफटीटीएच सेवा’ सञ्चालनका लागि सर्बे प्रक्रिया पुरा गरि पाइपलाइनमा रहेको छ। प्रदेशको हुम्ला र मुगु जिल्लामा मात्र माइक्रो वेवबाटै टेलिफोन सेवा सञ्चालन रहेकाले सडक तथा विद्युतको पहुँच बिस्तार हुने बित्तिकै ‘एफटीटीएच सेवा’ सञ्चालनमा ल्याइने उनको भनाइ छ।

हाल कर्णाली प्रदेशभरी २ सय ४१ ओटा बीटीएस टावर रहेकोमा चालु आर्थिक वर्षभित्रै थप ९१ ओटा नयाँ टावर थपेर प्रदेशका सबै वडा–वडामा फोरजी सेवा सञ्चालनमा ल्याउने तयारी भईरहेको टेलिकम कर्णाली प्रादेशिक कार्यालयका उपप्रबन्धक (प्राविधिक प्रमुख) राजन शर्माले बताए।

उनले पहिलेको भन्दा अपेक्षाकृत तीव्रतर गतिले काम अघि बढेको भएपनि बेलाबखत आउने प्राकृतिक व्यवधानसँगै विद्युत तथा सडक कार्यालय जस्ता निकायसँगको समन्वय ढिलाईले समस्या हुने गरेको जनाए।

उनका अनुसार चालु आर्थिक वर्षमा १० ओटा बीटीएस टावरमा विद्युतीकरण भईसकेको र थप १० वटामा विद्युतीकरणका लागि काम भईरहेको छ। अहिले कर्णालीमा ५० प्रतिशत बीटीएस टावरमा सुधार गरिएपनि दुर्गमका जिल्लाहरुमा अझै विद्युत, सडक पहुँच र कम जनशक्तिका कारणले सोचेजति प्रगति हुन नसकेको उनको भनाइ छ।

प्रदेशभरी पछिल्लो ६ महिनामा ५० हजार बढी सिमकार्ड विक्री भएका छन्। त्यस्तै आईपीटिभी, लिजलाईन, एफटीटीएच गरि कुल १ हजार २ सय ५९ थान विक्री गरिएको कार्यालयले जनाएको छ।

प्रदेशमा विद्युतीकरण ढिलाईले २ सय ४१ मध्ये १ सय ३९ ओटा बीटीएस टावरमा अझै सोलार, जेनेरेटर र स्थानीय हाईड्रो पावरबाटै बीटीएस टावर रिचार्ज गर्नुपर्ने बाध्यता कायमै रहेको छ।

प्रकाशित: २९ माघ २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार