
काठमाडौं ।
‘विपद् व्यवस्थापनमा डिजिटल प्रविधि’ सम्बन्धी तीनदिने तालिम सम्पन्न भएको छ। माघ २४ गतेदेखि शुरु भएको तालिम आज सकिएको हो।
तालिममा विभिन्न विश्वविद्यालयका प्रोफेसर र विषय विज्ञहरुले विपद् व्यवस्थापनमा डिजिटल प्रविधिको प्रयोगको प्रभावकारिता र चुनौतीहरुका विषयमा प्रस्तुती गरेका थिए। यस क्रममा जोखिम मुल्याङ्कन, न्यूनीकरण र रोकथाम, विपद् पूर्वतयारी लगायतका विषयमा एक अर्काबीचको अनुभव आदान प्रदान गरिएको थियो।
ट्वान्टे विश्वविद्यालय, आईटिसि संकायका बहु-प्रकोप जोखिम गतिशीलता विभागका प्रोफेसर केस भान वेस्टेनले विपद् व्यवस्थापनमा सूचना तथा सञ्चार प्रविधि (आईसिटि) पाठ्यक्रमको उद्धेश्य र डिजाइनबारे जानकारी गराएका थिए। उनले जोखिम मुल्यांकन कसरी गर्ने र त्यसलाई भिजुअलाईजेसनको माध्यमबाट कसरी देखाउने भन्नेबारे पनि सिकाए।
यस्तै बाह्य अन्तरिक्ष मामिलाका लागि संयुक्त राष्ट्र संघको कार्यालयका लोरन्ट जारानले स्याटलाइटको तस्वीर कसरी लिने, अन्तरिक्ष डेस्क जानकारी (Space Desk Information) मा सेन्डाई फ्रेमवर्कको भूमिका के छ भन्नेबारे जानकारी गराएका थिए।
एशियन इन्स्टिच्यूट अफ टेक्नोलोजीको जियोइन्फरमेटिक्स सेन्टरका निर्देशक डा. मञ्जुल कुमार हजारिकाले पूर्वसूचना र चेतावनी प्रणालीका बारेमा जानकारी गराएका थिए। उनले अनुगमन प्रणालीका बारेमा पनि बताए।
यसैगरी सोही संस्थाका अनुसन्धाता अनिस रत्न शाक्यले ‘फाष्टफ्लड’ र ‘रिस्कचेन्ज’ सम्बन्धी वेभसाइटमा भएका विषयहरुबारे जानकारी गराए । उनले विपद् सम्बन्धी तथ्याङ्क कुन कुन पोर्टलबाट कसरी लिन सकिन्छ भन्नेबारे पनि बताए। ए.आई.टि.कै जियोइन्फरमेटिक्स सेन्टरका कार्यक्रम अधिकृत शयाम नशरुल्लाहले स्याटेलाईट डाटा कसरी प्रयोग गर्ने भन्नेबारे बताए।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव अनिता निरौलाले प्राधिकरणले सुचना तथा सञ्चार प्रविधिमा गरिरहेको कामबारे जानकारी गराएका थिए भने यसका प्राविधिक पक्षहरुबारे अधिकृत जितेन्द्र अधिकारीले बताएका थिए।
तालिममा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले एपीसिआईसिटि, एआईटि र यूएनईएससिएपि सहित तीनवटै संस्थासँग मिलेर काम गर्न प्राधिकरण इच्छुक रहेको बताए। उनले संस्थाले विकास गरेका विपद् व्यवस्थापन सम्बन्धी पाठ्यक्रमहरु नेपाली भाषामा अनुवाद गरेर नेपालको विपद् सम्बन्धी जानकारी दिने वेभसाईट विपद पोर्टलमा राख्नु उपर्युक्त हुने धारणा व्यक्त गरे । उनले स्याटेलाईट तस्वीर सहज रुपमा लिन सकिने वातावरण बनाउन पनि आग्रह गरेका थिए ।
उक्त संस्थाका प्रतिनिधिहरुले नेपालको विपद् व्यवस्थापनमा सघाउन आफूहरु तयार रहेको बताए।
उक्त तालिममा गृह मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सहरी विकास मन्त्रालयका साथै जल तथा मौसम विज्ञान विभाग, खानी तथा भूगर्भ विभाग, वातावरण विभाग लगायतका सरोकार निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो।
तीन दिनसम्म चलेको तालिम राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र एशियन एण्ड प्यासिफिकस ट्रेनिङ्ग सेन्टर फर आईसीटी फर डेभलपमेन्ट/संयुक्त राष्ट्रसंघ इकोनोमिक्स एण्ड सोसियल कमिसन फर एशिया एण्ड प्यासिफिकको आयोजनामा भएको जनाईएको छ।
प्रकाशित: २७ माघ २०७९, शुक्रबार