
काठमाडौं ।
क्वालकमले आफ्नो स्न्यापड्रागन ८सीएक्स जेन ४ चिपसेट (एससी८३८०) लाई १० इन्च डिस्प्ले भएको डेभलपमेन्ट डिभाइसमा परीक्षण गरिरहेको छ। उक्त चिपसेट १० इन्च (वा ठूला) ट्याब्लेटहरू र सम्भवतः केही टु इन वान ट्याब्लेटहरू र विन्डोजका अन एआरएम ल्यापटपहरूमा पनि समावेश हुने संकेत गरेको बताइएको छ।
माइक्रोसफ्टले पनि आफ्नो डुअल स्क्रिन भएको सर्फेस नियो प्रकारको डिभाइसमा समावेश गर्न सक्ने सम्भावना रहेको छ।
क्वालकमको उक्त एससी८३८० चिपसेट एम सिरिजका चिपसेट समावेश भएका एप्पलको आईप्याड्स र म्याकबुक एयरका विरुद्ध बजारमा जाने बताइएको छ। एम सिरीज चिपसेटहरूमा काम गरेका एप्पलका पूर्व कर्मचारीहरूले बनाएको कम्पनी नुभियाले क्वालकमको उक्त चिपसेट र त्यसको ओरियोन सीपीयू कोर डिजाइन गरेको बताइएको छ।
स्न्यापड्रागन ८सीएक्स जेन ४ (कोड नाम हमोआ) मा १२ ओटा सीपीयू कोरहरु, ८ ओटा पर्फमेन्स(३.४गीगाहर्ज सम्मको) र ४ ओटा इफिसेन्सी कोरहरु (२.५ गीगाहर्ज सम्मको) रहने छन्। उक्त चिपसेटमा पर्याप्त रूपमा सक्षम रहेको एक बिल्ट–इन एड्रेनो ७४० जीपीयू समावेश गरिने छ। कूलिंग प्रणली भएको खण्डमा ल्यापटपहरू जस्ता ठूला फर्म फ्याक्टर्सहरुमा भने बाह्य (एक्सटर्नल) जीपीयू (८एक्स पीसीआईई ४.०) द्वारा सुसज्जित (इक्वीप्ड) गर्न सकिने उल्लेख गरिएको छ।
उक्त ठुला डिभाइसहरुले एनभीएमई ड्राईभहरु (४ एक्स पीसीआईई ४.०) पनि सपोर्ट गर्ने छ भने साना तथा सस्तो डिभाइस्हरुका लागि भने यूएफएस ४.० पर्याप्त हुने उल्लेख गरिएको छ। साथै कनेक्टिभिटी अप्सनहरुमा यूएसबी ४ (थन्डरबोल्ट ४ मा आधारित) र डिस्प्ले पोर्ट १.४ए समावेश रहेको बताइएको छ।
गत वर्ष नोभेम्बरदेखि क्वालकमले हमोआमा आधारित उपकरणहरूको परीक्षण गरिरहेको बताइएको छ। यद्यपी उक्त पहिलो व्यावसायिक उपकरणहरू (कर्मसियल डिभाइस) कहिले सम्ममा उपलब्ध हुनेछन् भन्ने बारे पूर्ण रूपमा स्पष्ट छैन्। उक्त व्यावसायिक उपकरणहरू यस वर्षको अन्तमा वा २०२४ को शुरुआतमा उपलब्ध हुन सक्ने सम्भावना रहेको थप बताइएको छ।
प्रकाशित: २७ माघ २०७९, शुक्रबार