
काठमाडौं ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आफूले गर्न सक्ने कामको प्राथमिकता अनुसार सूची बनाएर एक साताभित्र मन्त्रालयमा पेस गर्न मातहतका निकायलाई निर्देशन दिएकि छन्।
आर्थिक वर्ष २०७९/८० को दोस्रो द्वैमासिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई बिहीबार सम्बोधन गर्दै मन्त्री शर्माले यस्तो बताईन्। मन्त्रालयअन्तर्गत ६ ओटा कार्यक्षेत्र र १८ वटा निकाय छन्। सबै निकायका कार्यसम्पादन प्रक्रियालाई प्रभावकारी बनाउन आफूले गर्न सक्ने र सम्पन्न गरिसक्ने मितिसहित कम्तीमा तीनवटा कामको विवरण पेस गर्न उनले निर्देशन दिईन्।
विगतमा आफूले गर्न सक्छु भनेको काम पूरा हुन नसक्नुको जबाफ माग्दै उनले भनिन, “मन्त्री वा सचिबले यो काम गर्नुस् भनेर अह्राउनुहुन्छ भने सम्भब भए हुन्छ भन्नुस्। नसक्ने हो भने यो कारणले गर्न सकिँदैन भन्नुस्। नसक्नुको कारणबारे संयुक्तरूपमा छलफल गरेर समस्याको समाधान निकालौँला। राजनीतिक नेतृत्वको अनुहार हेरेर नबोल्नुहोला।”
मन्त्री वा राजनीतिक नेतृत्वलाई खुसी पार्न आफूले गर्नै नसक्ने काम सम्पन्न गर्छु नभन्न सबै निकायका अधिकारीलाई उनले आग्रह गरिन्। राजनीतिक परिवर्तनबाट आएका व्यक्तिमा केही नयाँ काम गर्ने हुटहुटी रहने भए पनि प्रशासनिक नेतृत्वको सहयोगबिना सम्भव नहुने उनले बताईन्।
“नेपालको कर्मचारीतन्त्रप्रति केही नकारात्मक टिप्पणी सतहमा आएका छन् तर मलाई लाग्छ हाम्रो कर्मचारीतन्त्र निकै क्षमतावान् छ,” उनले भनिन्।
आफूमातहतका निकायबाट सम्पादन हुनुपर्ने कामना कुनै प्रशासनिक तथा नीतिगत जटिलता भए आफूलाई जानकारी गराउन उनले आग्रह गरिन्।
मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालले छ महिनाको अवधिमा १८ वटै निकायबाट सम्पन्न भएका कार्यसम्पादन चित्तबुझ्दो नभएको जानकारी दिए। “अहिलेको प्रगतिमा अहा ! भन्ने अवस्था छैन। अर्को चौमासिकमा अहिलेको क्षतिपूर्तिसहित प्रगति हुने विश्वास लिएका छौं,” उनले भने।
राष्ट्रिय योजना आयोगका सहसचिव डा. किरण रुपाखेतीले मन्त्रालय तथा मातहतका निकायबाट भएका वित्तीय तथा भौतिक प्रगति सन्तोषजनक नभएको बताए। यस वर्ष भएको प्रगतिको आधारमा अर्को वर्षको बजेट निर्धारण हुने भएका कारण वित्तीय र भौतिक प्रगतिमा सचेत रहन उनले अनुरोध गरे। गोरखापत्रबाट
प्रकाशित: २७ माघ २०७९, शुक्रबार