इन्जिनियरिङका विद्यार्थीलाई अध्ययन/अनुसन्धान गराउन केयू परिसरमा सुरुङ मार्ग निर्माण गरिँदै

Technology Khabar २१ माघ २०७९, शनिबार

इन्जिनियरिङका विद्यार्थीलाई अध्ययन/अनुसन्धान गराउन केयू परिसरमा सुरुङ मार्ग निर्माण गरिँदै
सांकेतिक/फाइल तस्बिर

काठमाडौं ।

काठमाडौँ विश्वविद्यालय (केयू) परिसरमा सुरुङ मार्ग निर्माणको काम सुरु भएको छ। विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थीका लागि अध्ययन, अनुसन्धान प्रयोजन तथा सङ्ग्रहालयका रूपमा विकसित गर्ने उद्देश्यले २४० मिटर लामो सुरुङ मार्ग निर्माण सुरु गरिएको हो।

“पछिल्लो समय नेपालमा विद्युत सडकलगायतका थुप्रै प्रयोजनका लागि सुरुक्क मार्ग निर्माणको काम भइरहेको छ, विश्वविद्यालय परिसरमा निर्माण भइरहेको सुरुङ मार्गलाई हामीले सङ्ग्राहालयका रूपमा स्थापना गर्ने लक्ष्य लिएका छौं.” विश्वविद्यालयका सिभिल इन्जिनियरिङ बिभाग प्रमुख डा. श्यामसुन्दर खड्काले जानकारी दिए।

उनले निर्माणाधीन सुरुङ मार्गको सय मिटरको दूरीमा २० मिटर लम्बाइ र छ मिटर चौडाइको एउटा सभा हल निर्माण गरिने बताए। उनले सय मिटरको दूरीसम्म गाडी लैजान मिल्ने मार्ग र सय मिटरमा सभा हल तथा अर्को १२० मिटर दूरी भने मान्छे मात्रै जान मिल्ने सुरुङ निर्माण गर्ने बताए।

“अब हामीले भूमिगत संरचनामा पनि जानुपर्छ भन्ने अभिप्रायले सुरुङ मार्गभित्र नै सभा हललगायतका संरचना निर्माण गर्न लागेका हौँ.” डा. खड्काले भने।

सुरुङ मार्ग तथा अन्य संरचना निर्माणका लागि करिब पाँच करोड रुपियाँ खर्च हुने अनुमान गरिएको छ। सुरुङको प्रवेशद्वारतर्फ डालसम्म १० मिटर सुरुङ मार्ग निर्माण भएको र आउटलेट (बाहिर निस्कने) स्थानतर्फ फेब्रुअरी महिनासम्म १० मिटर सुरुङ निर्माण गरिसक्ने प्रमुख डा. खड्काले बताए।

विश्वविद्यालयले सन् २०१४ देखि नेपालमा नै पहिलो पटक स्नातक तहमा सुरुङ मार्गसम्बन्धी अध्यापन गराउँदै आएको छ। विश्वबिद्यालयमा सुरुङ मार्ग सम्बन्धित अध्ययन गर्ने विद्यार्थीले नेपालमा निर्माण भइरहेका सुरुङ मार्गमा काम गर्दै आएका छन्।

प्रकाशित: २१ माघ २०७९, शनिबार

तपाइको प्रतिक्रिया