
काठमाडौं ।
नेपालगञ्ज उपमहानगरपालिकाका अब ‘फ्री वाईफाई जोन’ भएको छ। पहिलो चरणमा नगरका सात स्थानलाई ‘फ्री वाईफाई जोन’ बनाइएको हो।
विपी चोक, धम्बोझी चोक, चौलिका चोक, सेतु विक चोक, पुष्पलाल चोक, कारकाँदो चोक र भेरी अस्पताल क्षेत्रलाई ‘फ्री वाईफाई जोन’ बनाइएको सूचना प्रविधि शाखा प्रमुख घनश्याम बर्माले जानकारी दिए।
इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्ससँगको सहकार्यमा उपमहानगरपालिकाले निःशुल्क वाईफाईको सेवा सुरु गरेको हो। नगर प्रमुख प्रशान्त विष्टले मंगलबार ‘फ्री वाईफाई जोन’ को शुभारम्भ गरे।
नगरलाई सूचना प्रविधिमैत्री बनाउँदै सर्वसाधारणलाई निःशुल्क इन्टरनेटको सुविधा दिने उद्देश्यले हाललाई केही मुख्य चोकहरुलाई लक्षित गरी वाईफाई निःशुल्क चलाउने व्यवस्था गरिएको नगर प्रमुख विष्टले बताए।
उनले यो सँगै सूचना प्रविधिका क्षेत्रमा नेपालगञ्ज उपमहानगरपालिकाले अर्को एउटा फड्को मारेको बताए। तत्काल नगरका प्रमुख ११ स्थान ‘फ्री वाईफाई जोन’ बनेपछि विस्तारै २३ वटै वडाभर निःशुल्क इन्टरेनट सुविधा पुग्ने गरी काम गर्ने विष्टको भनाई छ।
वर्ल्डलिंकका नेपालगञ्ज प्रमुख नवराज शर्माले अप्ठ्यारो अवस्थामा वाईफाईको सही सदुपयोग होस् भन्ने हेतुले हाललाई मुख्य चोकहरुमा सुरुवात गरिएको बताउँदै यसको दूरुपयोग वा अनाधिकृत प्रयोग रोक्न पब्लिकलाई ट्रयाक गरेर सिस्टममा ल्याउन पोर्टल पनि बनाइएको जानकारी दिए।
सर्वसाधारणले पहिलोपटक निःशुल्क वाईफाई प्रयोग गर्दा आफ्नो मोबाइल नम्बर प्रविष्ट गर्नुपर्ने हुन्छ। त्यसपछि आउने नोटिफिकेशनका आधारमा सुविधा पाइनेछ।
प्रकाशित: १८ माघ २०७९, बुधबार