
काठमाडौं ।
नेपाल राष्ट्र बैंकले अन्तरबैंक एटीएम शुल्क घटाएको छ। बैंक तथा वित्तीय संस्थाले जारी गरेका भुक्तानी कार्ड अर्को बैंक तथा वित्तीय संस्थामा प्रयोग गर्दा लाग्ने शुल्क घटाइएको हो।
यस अघि यस्तो शुल्क यसअघि २० रुपैयाँ रहेको थियो । अहिले संशोधन गरेर ५ रुपैयाँले घटाउँदै १५ मात्रै लाग्ने व्यवस्था गरेको हो।
राष्ट्र बैंकले ‘भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०७९’ जारी गर्दै बैंक तथा वित्तीय संस्थाले जारी गरेका भुक्तानी कार्ड स्वदेशभित्रै अर्को बैंक तथा वित्तीय संस्थाको एटीएम प्रयोग गर्दा प्रतिकारोबार बढीमा १५ रुपैयाँ सम्म शुल्क लिन सकिने जनाएको छ।
यसअघिसम्म मासिक २ वटा अन्तरबैंक एटीएम कारोबार निःशुल्क हुने व्यवस्था थियो। तर अहिले मासिक २ वटासम्म कारोबार निःशुल्क पाउने व्यवस्था भने हटाइएको छ।
राष्ट्र बैंकले सरकार, राजस्व व्यवस्थापन सूचना प्रणालीमा आबद्ध भएका भुक्तानी सेवा प्रदायकले सञ्चालन गरेको वालेट मार्फत गरिने राजस्व भुक्तानी सम्बन्धी कारोबारमा सम्बन्धित सेवा प्रदायकले लिने अधिकतम शुल्क पनि निर्धारण गरेको छ । जसमा ५ हजारसम्मको प्रति कारोबार अधिकतम सेवा शुल्क ५ रुपैयाँ, ५ हजार १ देखि १० हजारसम्म ८ रुपैयाँ र १० हजार १ देखि माथी १० रुपैयाँ लाग्ने छ ।
यस्तै बैंक तथा वित्तीय संस्थाका ग्राहकहरूले मोवाइल एप्लिकेशन वा इन्टरनेट बैंकिङ्गमार्फत विद्युतीय रकमान्तर गर्दा सेवा प्रदायकहरूले प्रति कारोबार अधिकतम १० रुपैयाँसम्म सेवा शुल्क लिन सक्ने व्यवस्था गरिएको छ ।
प्रकाशित: १७ माघ २०७९, मंगलवार