गण्डकी चेम्बरले प्रदेशमा आइडिया बैङ्क स्थापना गर्ने

  • Technology Khabar | १६ माघ २०७९, सोमबार
गण्डकी चेम्बरले प्रदेशमा आइडिया बैङ्क स्थापना गर्ने

काठमाडौं ।

गण्डकी चेम्बर अफ कमर्सले प्रदेशमा आइडिया बैङ्क स्थापना गर्ने निर्णय गरेको छ। गण्डकी चेम्बर अफ कमर्सको आठौँ कार्यसमिति बैठकले ‘सोचबाट उद्यमशीलता’ भन्ने प्रमुख लक्ष्यसहित गण्डकीमा आइडिया बैङ्क स्थापना गर्ने निर्णय गरेको चेम्बर गण्डकीका अध्यक्ष किसान सुनारले जानकारी दिए।

“गण्डकी प्रदेशभित्र स्थापना भएका उद्योग व्यवसायलाई थप व्यवस्थित र वस्तु तथा सेवाको व्यावसायिक प्रवद्र्धन गर्ने प्रमुख लक्ष्य हो । आइडिया बैङ्क स्थापना भएसँगै नयाँ उद्यम गर्न चाहने र विदेशबाट ज्ञान सीप सिकेर पुँजी लिएर आएका उद्यमीलाई विशेष सहयोग पुग्छ,” उनले भने।

देशमा भएका बेरोजगार युवालाई स्वरोजगार सिर्जना गर्न चेम्बरले तीन तहको सरकारसँग सहकार्य गर्न आइडिया बैङ्कले सहयोग गर्ने उनले बताए ।

यसका साथै बैठकले गण्डकी प्रदेशमा फ्री हटलाइन नम्बर हेलो चेम्बर हेल्प डेस्क स्थापना गर्ने निर्णय गरेको छ। गण्डकी प्रदेश भित्रिरहेका उद्योगी, व्यवसायीको हक, हित, समस्या पहिचान र निराकरण गर्नका लागि व्यावसायिक प्रवद्र्धन गर्न सरकार र निजी क्षेत्रबीच पुलको काम गरी सरकारलाई व्यवसायीमैत्री नीति निर्माण गर्न, लगानीमैत्री वातावरण तयार गर्न नीतिगत सुझावका लागि हेल्प डेस्क स्थापना गर्ने निर्णय गरेको हो।

यस्तै चेम्बर गण्डकीले एक पालिका एक उत्पादन र उत्पादित वस्तुको बजारीकरण गर्ने निर्णयसमेत गरेको छ । सीप सिकेर स्वदेशमा नै कृषि व्यवसाय गर्न चाहने तथा कृषि पेसामा सीप सिकेर विदेश जान इच्छुक व्यक्तिलाई आवश्यक तालिम प्रदान र विदेशबाट फर्र्किएका युवालाई कृषि तालिम दिएर कृषिमा आबद्धता गर्ने निर्णयसमेत गरेको छ ।

चेम्बर अफ कमर्स गण्डकीको वार्षिक साधारण सभा चैत ११ गते पोखरामा गर्ने निर्णयसमेत भएको अध्यक्ष सुनारले जानकारी दिए। बैठकमा जिल्ला चेम्बरको प्रगति प्रतिवेदन, एसोसिएट र वस्तुगत सङ्घ दर्तासम्बन्धी विषयमा छलफल भएको थियो।

प्रकाशित: १६ माघ २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार