राष्ट्रिय परिचयपत्रको लागि एउटा कल सेन्टर बनाउन ४३ लाख खर्च

Technology Khabar ४ माघ २०७९, बुधबार

काठमाडौं ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सेवाग्राहीको गुनासो सम्बोधन गर्न भनेर ४३ लाख रुपैयाँ लगानी गरेर कल सेन्टर स्थापना गर्ने भएको छ।

विभागले कल सेन्टर स्थापना गर्नका लागि एडभान्टेज इन्टरनेस्नल प्रालि र भक्सक्रो प्रालिको संयुक्त उपक्रम (ज्वाइन्ट भेन्चर) लाई मंसिर १९ गते ४३ लाख १४ हजार १७५ रुपैयाँमा ठेक्का दिएको हो।

सिंहदरबारस्थित विभागको कार्यालयमा नै रहने कल सेन्टर सम्झौताअनुसार ठेक्का पाएको कम्पनीले एक वर्षसम्म सञ्चालन गर्नेछ।

राष्ट्रिय परिचयपत्रका सम्बन्धमा बढ्दो गुनासोलाई सम्बोधन गर्नका लागि कल सेन्टर स्थापना गर्न लागिएको विभागका सूचना अधिकारी लक्ष्मण ढकालले जानकारी दिए।

“कल सेन्टरका माध्यमबाट राष्ट्रिय परिचय पत्र सम्बन्धि गुनासो, परिचय पत्र कहाँबाट लिने र यससँग सम्बन्धि विषयको सम्बोधन गरिनेछ,” उनले टेक्नोलोजीखबरसँग भने।

ठेकेदार कम्पनीले नै कल सेन्टरका लागि आवश्यक पूर्वाधार र कर्मचारीको व्यवस्था मिलाउने उनले जानकारी दिए।

उनका अनुसार सम्भवत: अर्को हप्तादेखि कल सेन्टर स्थापना गरी सञ्चालनमा आउनेछ।

सूचना अधिकारी ढकालले एउटै कल सेन्टर स्थापनाका लागि ४३ लाख रुपैयाँ किन खर्च गरिँदैछ भन्ने प्रश्नमा सो कल सेन्टरमा कम्पनीले नै कर्मचारीहरु राख्ने र परामर्श लगायतका काम दिने बताए।

सरकारले करिब १२ वर्ष अघि शुरु गरेको राष्ट्रिय परिचयपत्र हालसम्म कसैलाई उपलब्ध गराउन सकेको छैन्। र अझै कतिसमयमा सर्वसाधारणले हात पार्छन भन्ने समेत कुनै जानकारी छैन्।

तर सरकारले विभिन्न सेवाहरुको लागि राष्ट्रिय परिचयपत्रको प्रणालीमा दर्ता गर्नुपर्ने व्यवस्था गरेको छ।

हाल राहदानी लिनका लागि समेत राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य छ।

सेवाग्राहीहरुले राष्ट्रिय परिचयपत्र बनाउन समेत सास्ती खेपेको र राष्ट्रिय परिचयपत्र उपलब्ध नै नराउन नसकेको भन्दै वर्तमान सरकारले राष्ट्रिय परिचयपत्रका लागि सहजीकरण गर्ने योजना प्राथमिकताका साथ घोषणा गरेको छ।

प्रकाशित: ४ माघ २०७९, बुधबार

तपाइको प्रतिक्रिया