पाल्पामा सहज बन्दै विद्युतीय राहदानी सेवा

  • Technology Khabar | ४ माघ २०७९, बुधबार
पाल्पामा सहज बन्दै विद्युतीय राहदानी सेवा

काठमाडौं ।

राहदानी सेवा लिन सेवाग्राहीले लामबद्ध भएर सास्ती खेप्नु परेपछि सो सेवालाई सहज बनाइएको छ। छिटोछरितो सेवा दिने उद्देश्यले जिल्ला प्रशासन कार्यालयले विद्युतीय राहदानीका लागि सेवा समय थप गरेको हो।

समय बढाएर सेवा दिन थालेपछि अहिले सेवाग्राहीलाई सजिलो भएको छ।
कार्यालयले दैनिक तीन सिफ्टमा समय तालिका बनाएर सेवा सुरु गर्दै बिहान आठ बजेदेखि बेलुका सात बजेसम्म ११ घण्टा सेवा पुर्याइएको छ।

बिहान आठबजेदेखि १० बजेसम्म, १० बजेदेखि दिउँसो चार बजेसम्म र चार बजेदेखि बेलुका सात बजेसम्म समय तालिकाअनुसार सेवा दिन थालिएको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले जानकारी दिए।

“राहदानी लिनेको भीड बढ्न थालेपछि सेवाको अवधि विस्तार गरिएको छ” उनले भने, “विद्युतीय राहदानीका लागि एउटा मात्र मेसिन चालु भएको हुँदा जतिसक्दो धेरैलाई सेवा दिने प्रयासमा छौँ।” उनका अनुसार एक दिनमा ७० जनासम्मको काम भएको छ।

इलाका प्रशासन कार्यालयबाट पनि सो दिनका लागि राहदानी मेसिनको व्यवस्थाका लागि पहल गर्नुपर्ने भएको छ। कार्यालयले अन्य सेवा प्रवाह गर्न पनि समयतालिका निर्धारण गरी काम गर्दै आएको जनाएको छ।

सेवासम्बन्धी कुनै दुविधा वा अस्पष्टता भएमा फाँटवाला प्रमुख वा सहायक प्रमुख जिल्ला अधिकारीको सहयोग लिन सर्वसाधारणलाई अनुरोध गरिएको छ।

उक्त कार्यालयले एकवर्ष अघि पनि केही समयसम्म दैनिक तीन सिफ्ट गरी सेवा दिएको थियो। सेवाग्राही कम हुँदै गएपछि भने सो सेवा स्थगन गरिएको थियो।

प्रकाशित: ४ माघ २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...