
काठमाडौं ।
सामसङको फोल्डेबल डिस्प्लेहरुमा प्रस्टरुपमा देखा पर्ने क्रिजहरुलाई लिएर धेरैले गुनासो गर्ने गरेको पाइएको छ। यसै कारण आगामी ग्यालेक्सी जेड फोल्ड ५ मा भने अब उक्त रेखाहरु देखा नपर्ने उल्लेख छ।
सामसङले आगामी जेड फोल्ड मोडलहरुमा नयाँ वाटरड्रप हिंज मेकानिजम ल्याउन लागेको नाभर न्युजको समाचारलाई उदृत गर्दै जीएसएम एरिनाले रिपोर्ट गरेको छ। त्यसपश्चात सामसङको फोल्डेबल डिस्प्लेहरुमा देखिने स्क्रिन क्रिजहरु हट्ने र प्यानललाई पूर्णरुपमा समतल तवरले फोल्ड गर्न सकिने बताइएको छ।
उक्त नयाँ हिंज मेकानिजमले गर्दा फोल्डिङ डिस्प्लेलाई हिंज बडी भित्र वाटरड्रपलेटको आकारमा देखिने र प्यानलको दुई साइडको बीच भागको क्रिजलाई रोक्नेछ। मोटो रेजर र ओप्पो फाइण्ड एन सिरिजहरुमा पनि समान प्रकारको संयन्त्र अपनाइएको उल्लेख गरिएको छ।
सामसङको ग्यालेक्सी जेड फोल्ड४ र जेड फ्लिप४ ह्याण्डसेटहरुमा अझै पनि यू–सेप्ड हिंजहरु समावेश गरिएको हुनाले उक्त मोडलको स्क्रिनमा क्रिजहरु देखापर्नुका साथै डिस्प्लेहरु पूर्ण रुपमा बन्द नहुने उल्लेख छ।
त्यसैगरी सामसङले आगामी जेड फोल्ड५मा आईपी६८ वाटर र डस्ट रेसिस्टेन्स रेटिङ कायम राख्ने अपेक्षा गरिएको छ।
प्रकाशित: ३ माघ २०७९, मंगलवार