Technology Khabar ११ असार २०७४, आईतवार
काठमाडौं ।
काठमाडौं, ११ असार । अत्याधुनिक प्रविधिमा आधारित बैंकिङ सेवा दिने उदेश्यले टुरिजम डेभलपमेन्ट बैंकले चिप कार्ड र स्मार्ट मोबाइल बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकालका अनुसार बैंकले सञ्चालनमा ल्याएको स्मार्ट मोबाइल बैंकिङ सेवामा हुने कारोबार निकै सुरक्षित हुनुका साथै वाइफाइबाट ग्राहकले संसारका जुनसुकै ठाउँबाट कारोबार गर्न सक्नेछन् ।
त्यसैगरी, बैंकका नयाँ शाखाहरु, खाताहरु, सेवालगायत एटीएम सञ्जालबारेमा जानकारी प्राप्त गर्न सक्ने, अन्तर बैंक भुक्तानी गर्न सक्ने र वस्तु तथा सेवा गरिदबापत भुक्तानी गर्नसक्ने प्रमुख कार्यकारी अधिकृत ढकालले जानकारी दिए ।
त्यस्तै, बैंकले सुरु गरेको इएमभी चिप प्रविधिमा आधारित भिषा डेबिट कार्ड, डलर कार्ड, अन्तर्राष्ट्रिय ट्राभल कार्ड कार्ड जारी गरेको छ । यी कार्डहरु विश्वव्यापी रूपमा प्रयोग गरिने अत्याधुनिक इएमभी चीप प्रविधिमा आधारित भएकोले धेरै सुरक्षित भएको बैंकको दाबी छ ।
भिषा डेबिट कार्ड नेपाल र भारतका १ लाखभन्दा बढी एटीएमहरुमा चल्ने, भिषा अन्तर्राष्ट्रिय ट्राभल कार्ड विश्वको जुनसुकै ठाउँबाट त्यहीको स्थानीय मुद्रामा पैसा निकाल्न साथै भुक्तानी गर्न सकिने र बैंकले भिषा डेबिट तथा अन्तर्राष्ट्रिय ट्राभल कार्ड अरु बैंकहरु भन्दा सस्तो शुल्कमा उपलब्ध गराएको बैंकले जनाएको छ ।
त्यसैगरी, बैंकले पोईन्ट आफ्नो सेल्स मेशिन शुरु गरेको छ । यी मेशिनहरु इएमभी चीप प्रविधिमा आधारित भएकाले कारोबार अझ सुरक्षित हुने बैंकको भनाइ छ ।
प्रकाशित: ११ असार २०७४, आईतवार