प्रभावकारी बन्दै ‘हेलो मेयर’

  • Technology Khabar | २३ पुष २०७९, शनिबार
प्रभावकारी बन्दै ‘हेलो मेयर’
सांकेतिक तस्विर

काठमाडौं ।

स्थानीय सेवाग्राहीले कीर्तिपुर नगरपालिकाको ‘हेलो मेयर’को टेलिफोनमा आफ्नो निजी जग्गामा अरूले बाटो बनाइसके भन्ने गुनासो गरेका छन्। सडकपेटीमा राखिएका फुटपाथ हटाउनु पर्यो, नगरपालिकाको भित्री टोलको सडक बिग्रिएको छ, सडक छिटो बनाउनु पर्यो भन्नेजस्ता गुनासा धेरै आउने गरेका छन्।

बाजुराको बूढीनन्दा नगरपालिकाले सञ्चालन गरेको ‘हेलो मेयर’को टेलिफोनमा घरको धारोमा पानी आएन, पानी आउने व्यवस्था गर्नुपर्यो, वडा कार्यालयमा कर्मचारी नहुँदा सेवा लिन समस्या भयो भन्ने गुनासा धेरै आउने गरेका छन्। कतिपय स्थानीय तहले सेवाग्राहीका जनगुनासो सुनुवाइ गर्न ‘हेलो मेयर’ कार्यक्रम सञ्चालन गर्न थालेका छन्। सेवाग्राहीले उठाएका समस्या सम्भव भएसम्म तत्काल समाधान गर्ने र नीतिगत तहमा समाधान गर्नुपर्ने भए स्थानीय तहको सभामार्फत कानुन निर्माण गर्ने उद्देश्यले हेलो मेयर कार्यक्रम सञ्चालन गरिएको छ।

केही पालिकाले ‘हेलो मेयर’ कार्यक्रम सञ्चालन गरे पनि अधिकांश पालिकाले सञ्चालन गर्न बाँकी रहेको नेपाल नगरपालिका सङ्घले जनाएको छ। सङ्घका अनुसार काठमाडौँको कीर्तिपुर, बूढानीलकण्ठ र बाजुराको बूढीनन्दा नगरपालिकाले ‘हेलो मेयर’ कार्यक्रम सञ्चालन गरेका छन्। सङ्घीय सरकारले पनि केही वर्षअगाडिदेखि नै ‘हेलो सरकार’ कार्यक्रम सञ्चालन गरी नागरिकका गुनासो सुनुवाइ गर्दै आएका छन्।

कीर्तिपुर नगरपालिका प्रमुख राजकुमार नकर्मीले नगरवासीका समस्या तत्काल समाधान गर्न गत साउनदेखि ‘हेलो मेयर’ कार्यक्रम सञ्चालन गरिएको बताए। उनका अनुसार नगरपालिकाभित्रका स्वास्थ्य, शिक्षा, खानेपानी, सुशासन, कर्मचारीको सेवा प्रभाव, उपभोक्ताका काम, प्राकृतिक प्रकोप तथा विपत् व्यवस्थापनको पूर्वतयारी, सामुदायिक विद्यालयका गुणस्तर सुधारलगायतका गुनासो आउने गरेका छन्।

उनले भने, “हेलो मेयर कार्यक्रमका लागि निःशुल्क टोल फ्री नम्बर व्यवस्था गरिएको छ। नगरवासीले नगरप्रमुखसँग आफ्ना समस्या र गुनासा सुनाउन तथा टिपाउन सक्ने गरी सेवा सञ्चालन गरिएको छ।”

बूढीनन्दा नगरपालिकाका प्रमुख जनककुमार बोहराले जनगुनासो सुनुवाइका लागि साउनदेखि नै ‘हेलो मेयर’ कार्यक्रम सञ्चालन गरिएको बताए। “हामी विपन्न समुदायका सवाल र समस्या सम्बोधन गर्न आएका हौँ। समुदायका तल्लो तहका नागरिकको जीवनस्तर सुधार्नु प्रमुख प्राथमिकतामा पर्नुपर्छ र यही सङ्कल्पसहित सेवाग्राहीका काम थप प्रभावकारी बनाउन हेलो मेयर कार्यक्रमले सहयोग पुगेको छ।”

आफ्ना गुनासा नगरपालिकामा राख्न नभ्याएका सेवाग्राहीलाई ‘हेलो मेयर’ कार्यक्रमले थप सहयोग गरेको छ। ‘हेलो मेयर’ कार्यक्रममा सबै गुनासा मात्र आउँदैनन्, कतिपय सुझाव पनि आउने गरेका छन्। उनले कतिपय सुझाव त नगरपालिकाको नीति निर्माण गर्ने कार्यक्रममा समेत सहयोग पुग्ने गरेको बताए। हेलो मेयर कार्यक्रम सञ्चालनमा आएका गुनासा र सुझाव टिपोट गरी दैनिक सोको प्रतिवेदन निर्माण गरी नगरप्रमुखको सचिवालयमा बुझाउने गरिएको छ। गोरखापत्रबाट

प्रकाशित: २३ पुष २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...