‘स्मार्ट बोर्ड’ प्रयोगपछि विद्यार्थी बढ्दै

  • Technology Khabar | २३ पुष २०७९, शनिबार
‘स्मार्ट बोर्ड’ प्रयोगपछि विद्यार्थी बढ्दै
सांकेतिक तस्विर

काठमाडौं ।

सिरहाको सखुवान्नकारकट्टी गाउँपालिकाले सामुदायिक विद्यालयमा शिक्षण सिकाइलाई प्रभावकारी बनाउन ‘स्मार्ट बोर्ड’ प्रयोगमा ल्याएको छ।

विद्यालयमा विद्यार्थीलाई टिकाउन स्मार्ट बोर्डको प्रयोगमा ल्याएपछि शिक्षण प्रभावकारी भई विद्यार्थी सङ्ख्या पनि बढेको छ। ग्रामीण भेगका विद्यार्थीसमेत उक्त विद्यालयमा जान थालेका छन्।

गाउँपालिका शिक्षा शाखाका प्रमुख भोगेन्द्रप्रसाद यादवका अनुसार गाउँपालिकामा रहेका १६ वटा आधारभूत विद्यालयमध्ये पाँचवटा विद्यालयमा स्मार्टबोर्डको प्रयोग गरी डिजिटल बिधिबाट शिक्षण सिकाइ सुरु भएको छ। यसले यहाँदेखि आठ किलोमिटर टाढा लहानका निजी विद्यालयमा पढ्न जाने विद्यार्थी गाउँकै विद्यालयमा भर्ना हुन थालेको उनले बताए।

गाउँपालिका–४ मा रहेको राष्ट्रिय आधारभूत विद्यालय सखुवामा स्मार्टबोर्डको शिक्षण कार्यबाट निकै प्रभाव परेको विद्यालयका प्रधानाध्यापक गौरीनारायण यादवले बताउनुभयो। प्रधानाध्यापक यादवले भने, “विद्यालय कस्तो बनाउने सरोकारवाला सबैको साझा सोच हुनैपर्छ तर विद्यालयको प्रधानाध्यापकको सोच सबैभन्दा महत्वपूर्ण हुने गर्दछ।”

शिक्षा शाखाले माग गरेअनुसारको आधुनिक प्रविधि विद्यालयमा जडान गरिदिएपछि पढाइ प्रभावकारी भएको छ भने अभिभावकसमेत खुसी भई संस्थागत विद्यालयबाट विद्यार्थी सामुदायिक विद्यालयमा भर्ना गराउन थालेका छन्। स्थानीय अभिभावक कोशिला मण्डलले भनिन्, “स्मार्टबोर्डको प्रयोगले विद्यार्थीमा पढने रुचि बढेको छ भने अभिभावक पनि खुसी छन्।”

उनले संस्थागत विद्यालयमा पठाएका विद्यार्थी सामुदायिक विद्यालयमा भर्ना गरेको बताए।

बलान नदीको किनारमा रहेको राष्ट्रिय आधारभूत विद्यालयमा यस्तो प्रविधिबाट भइरहेको छ। अर्को वर्ष यस विद्यालयमा दोब्बर विद्यार्थी भर्ना हुने विश्वासका साथ नमुना बनाउन लागि परेको सखुवानन्कारकट्टी–४ का वडाध्यक्ष रमेश यादवले बताए। उनले शिक्षामा सुधार पहिलो प्राथमिकता हुने प्रतिबद्धता गरेर चुनाव जितेकोले चुनावी प्रतिबद्धता पूरा गर्न दत्तचित्त भएर लागेको बताए।

सखुवान्नकारकट्टी गाउँपालिकालाई ग्रामीण भेगको शैक्षिक हवका रूपमा विकास गर्न शिक्षामा बजेट विनियोजन गरेको गाउँपालिका अध्यक्ष केदारनाथ यादवले प्रस्ट्याए। उनले भने, “अहिले पाँचवटा आधारभूत विद्यालयमा स्मार्टबोर्डको प्रयोग र डिजिलाइटेसन गर्ने कार्य सुरु गरेका छौं। दुई वर्षभित्रमा सोह्रवटै आधारभूत विद्यालय र चारवटै माध्यमिक विद्यालयमा प्रयोगमा ल्याउने छाैँ।” गोरखापत्रबाट

प्रकाशित: २३ पुष २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार