
काठमाडौं ।
बझाङ जिल्लाका स्थानीय तहमा विद्युतीय भुक्तानी प्रणाली सुरु गरिएको छ। स्थानीय तहको आर्थिक कारोबार व्यवस्थित बनाउन कोष तथा लेखा नियन्त्रण कार्यालयले विद्युतीय भुक्तानी प्रणाली लागू गरेको हो ।
मंगलबार बझाङमा कार्यरत लेखापाललाई विद्युतीय भुक्तानी प्रणाली अभिमुखीकरण कार्यक्रम गरेपछि सातवटा पालिकामा विद्युतीय भुक्तानी प्रणाली लागू भएको हो। स्थानीय तहमा आर्थिक सुशासन र जनमैत्री सेवाका लागि विद्युतीय भुक्तानी प्रणाली निकै प्रभावकारी बनेको कोष तथा लेखा नियन्त्रण कार्यालय बझाङका लेखापाल शिबराज पाण्डेले बताए।
उनले कोष तथा लेखा नियन्त्रण कार्यालयले सिधै पालिकाको खातामा रकम पठाइने र पालिकाले समेत बिल भर्पाईका आधारमा सिधै सम्बन्धित
व्यक्ति तथा उपभोक्ताको खातामा रकमान्तर गरिदिने हुनाले सेवाग्राहीले सहजै प्राप्त गर्न सक्ने बताए।
ई-भुक्तानी प्रणालीले सरलता, प्रभावकारिता र आर्थिक पारदर्शिता कायन हुने विश्वास गरिएको छ। नेपाल सरकारकाले बिस्तारै-बिस्तारै सरकारी कार्यालयका कामकाजलाई अनलाइन तथा विद्युतीयमैत्री बनाउन थालेपछि स्थानीय उपभोक्ता तथा सेवाग्राहीलाई समेत सजिलो भएको छ ।
स्थानीय तहमा घण्टौंसम्म लाइनमा बस्ने, बैंकमा जम्मा गर्न लाममा बस्नुपर्ने बाध्यताको समेत अन्त्य भएको छ। जयपृथ्वी नगरपालिकाका लेखा अधिकृत गोविन्द बिष्टले नगरपालिकामा यो प्रणाली लागू भएपछि काम गर्न निकै सहज भएको बताए। उनले यो प्रणालीबाट चेकरहित कारोबार हुनेसमेत बताए ।
जिल्लाको छबिसपाथीभेरा गाउँपालिका, साइपाल गाउँपालिका, तल्कोट गाउँपालिका, मष्टा गाउँपालिका, सुर्मा गाउँपालिका, जयपृथ्वी नगरपालिका र बित्थडचिर गाउँपालिकामा यो प्रणाली लागू भएको छ। गोरखापत्रबाट
प्रकाशित: २२ पुष २०७९, शुक्रबार