विद्युत प्राधिकरणले अपरेशन सेन्टरको विद्युत काटिदिँदा पोखरामा इन्टरनेट सेवा ठप्प

Technology Khabar २१ पुष २०७९, बिहीबार

काठमाडौं ।

पोखरा क्षेत्रमा आज पूर्णरुपमा इन्टरनेट सेवा डाउन भएको छ। इन्टरनेट सेवा प्रदायकहरुको संचालन केन्द्रमा नै नेपाल विद्युत प्राधिकरणले विद्युतीय सेवा अवरुद्ध गरिदिएपछि पोखरा तथा आसपासका क्षेत्रमा आज इन्टरनेट सेवा बिच्छेद भएको हो।

इन्टरनेट सेवा प्रदायक संघ नेपाल आइस्पानले यसअघि नै प्रेस विज्ञप्ती जारी गर्दै पोखरा क्षेत्रमा अब कुनैपनि बेला इन्टरनेट सेवा बन्द हुने चेतावनी दिएको थियो।

अब भने पोखरा तथा आसपासका क्षेत्रमा इन्टरनेट सेवा पूर्णरुपमा ठप्प भएको आइस्पानले बताएको छ। आइस्पानका एक अधिकारीले विद्युत प्राधिकरणले तार काटिदिँदा पनि अहिलेसम्म ब्याकअपबाट धानिएको तर अब नसकिने अवस्था आएको बताए।

“पोखरामा अपरेशन सेन्टरकै बत्ति काटेपछि अहिले पूर्णरुपमा इन्टरनेट सेवा बिच्छेद भएको छ। हाम्रो व्याकअपले धान्नेसम्म सेवा दिईरहेका थियौं,” उनले भने, “यसले हाम्रा सबै ग्राहकहरुलाई असर पारेको छ। हामीलाई विद्युत प्राधिकरणले क्षतिपूर्ति दिनुपर्ने हाम्रो माग छ।”

आइस्पानले यसअघि पोखरामा इन्टरनेट सेवा प्रदायकहरुको मुख्य अपरेशन सेन्टर (Operation Center) मा नै नेपाल विद्युत प्राधिकरणले छानेरै विद्युत सेवा विच्छेद गरेको बताएको थियो।

“हामी सेवा प्रदायकहरुले हरसम्भव प्रयास गर्दा पनि अपरेसन सुचारु गर्न नसक्ने अवस्था आएकोले कुनै पनि समयमा पोखरा तथा पोखरा आसपासका क्षेत्रहरुमा इन्टरनेट सेवा अवरुद्ध हुन सक्ने यसै प्रेस विज्ञप्ति मार्फत जानकारी गराउँदछौँ,” आईस्पानका अध्यक्ष सुधिर पराजुलीद्वारा जारी विज्ञप्तीमा भनिएको छ। यसका साथै आइस्पानले उक्त विद्युत सेवा बन्द गर्ने कार्यको सम्पूर्ण जिम्मेवारी नेपाल विद्युत प्राधिकरणले लिई क्षतिपूर्ति समेत दिनुपर्ने माग गरेको छ।

यसअघि आइस्पानले पत्रकार सम्मेलन गरेर विद्युत प्राधिकरणले अचाक्लि (६००-७०० प्रतिशतसम्म) आफूखुसी भाडा बढाए पश्चात सो भार उपभोक्तामा पर्न नदिन राज्यले उच्च स्तरिय समिति गठन गरी प्रतिवेदन दिई घटेको भाडादरमा इन्टरनेट सेवा प्रदायकहरुसंग भाडा लिन भनेकोमा विद्युत प्राधिकरणले ठिक विपरित  आफूखुशी तोकेको भाडादरमै सम्झौता गरी भुक्तानी गर्न भन्दै गलत/गैरकानुनी ढङ्गले भाडा असुल गर्न खोजेको बताएको छ।

सम्बन्धित समाचार-

पोखरा र आसपासका क्षेत्रहरुमा कुनैपनि बेला इन्टरनेट सेवा अवरुद्ध हुनसक्ने चेतावनी

गएको असोजमा समेत प्राधिकरणले पोखराका नौ ठाउँमा सेवा प्रदायक केही कम्पनीको इन्टरनेट सेवाको तार काटिदिएको थियो। पोखरा क्षेत्रमा करिब १३ वटा इन्टरनेट प्रदायक संस्थाले सेवा दिँदै आएका छन् ।

प्रकाशित: २१ पुष २०७९, बिहीबार

तपाइको प्रतिक्रिया